o उषा जोशी
हजारौं आँखाले देखेका सपनाहहरू
लाखौं मानसपटलमा पलाएका आशाहरू
पटक, पटक निमोठिएकाछ्न, निर्मम हातबाट
र लत्याइएका छन् , फोहरका टोकरीमा
कुनै दुर्गन्धित बस्तु झैँ ।
कालो बादलको मुस्लो भित्रबाट निस्केर
सुन्दर र सफा आकाशमा पुग्ने रहरहरू
कैयौं पटक निसास्सिएका छन् , अन्तरिक्षमा
गर्भाशयमै निदाएको बालक झैँ
फेरि कहिल्यै नबिउँझिने गरि ।
लाखौं भोकले मडारिएका पेटहरू
भरिनै नसकेपछि आमाहरूको ममताले
बेचिरहेका छन् अमूल्य रगत र पसिना
र फर्किरहेका छन् कोहि बाकसहरूमा
फेरि कहिले नभोकाउने गरि ।
हजारौं निर्दोश छोरीका चोलीहरू
च्यातिएका छन् आततायी हातहरूबाट
र नङ्याइएका छन् अङ्गहरू पटक पटक
कहिले आफ्नै घर र दोबाटोमा अनि
कहिले खुला इजलासहरूमा ।
मेटाइएका छन् नियतबस सुन्दर इतिहास
रित्याइएका छन् दर्जनौँ काखहरू
छरिएका छन् भ्रमका बिउहरू जताततै
र रोपिएका छन् आशंकाका बोटहरू
कलिला ती मस्तिष्कहरूमा ।
हजारौं स्वच्छ हृदयहरूको बलिदानले
लेख्न खोजिएको छ सुनौलो भविस्य
ल्याउन खोजिएको छ सुन्दर बिहानी
न छोपोस अब कुनै निर्दयी अध्यारोले
औँशीको कालो रात बनेर ।
पटक पटक निभेका ठुटाहरू जोडेर
बाल्न खोजिएको छ आशाको दीपक
मुस्कुराउन खोजेका छन् ओठहरू
नलागोस कालो नजर कुनै बैरीको
छरियोस खुसी अनन्त अनन्त !!!