Logo
९ कात्तिक २०८२, शनिबार

निर्वाचनको वातावरण धमिल्याउने काम नगरौँ : गृह मन्त्रालय

अक्षरपाटी
२०८२ कात्तिक ९ , शनिबार ०६:१० मा प्रकाशित

काठमाडौं। सरकार निर्वाचनको वातावरण बनाउन लागिपरेको जनाउँदै गृह मन्त्रालयले संयमित हुन सबैलाई अपिल गरेको छ।

विभिन्न व्यक्ति, समूहले सामाजिक सञ्जालमार्फत धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेकोप्रति ध्यानाकृष्ठ भएको जनाउँदै मन्त्रालयले निर्वाचनको वातावरण विथोल्ने काम नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

गृह मन्त्रालयले सबैका जायज माग, चासो र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको जनाउँदै वार्ताका माध्यमबाट समाधान खोज्न पनि अपिल गरेका छ।

जेनजी आन्दोलनका बलमा बनेको सरकार भएकाले सुशासन स्थापना र फागुन २१ का लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको गृह मन्त्रालयले जनाएको छ।

आन्दोलनपछि ठप्प भएका सार्वजनिक सेवा पुनःसञ्चालन गरेर देशमा शान्ति सुव्यवस्था कायम गर्दै निर्वाचनको वातावरण निर्माण भइरहेका बेला पुनः जनताको शान्तिपूर्ण वाच्न पाउने अधिकार र निर्वाचनमा सहभागी हुने हकमा अवरोध नपुर्याउन सरकारले आग्रह गरेको छ।

मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता निम्त्याउन सक्नेतर्फ आयोजकहरू आफै पनि सचेत हुनुपर्नेमा मन्त्रालयको भनाइ छ।

निर्वाचनका लागि सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन, स्रोत र साधानको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरिरहेको जानकारी समेत गराएको छ।

गृह मन्त्रालय