Logo
१६ चैत्र २०८०, शुक्रबार

गृह मन्त्रालयद्वारा दर्ता र नवीकरण नभएका क्रसर बन्द गर्न प्रशासनलाई निर्देशन

अक्षरपाटी
२०७९ पुस २० , बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं। सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशभरका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

कानूनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयद्वारा जारी परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्को अनुमति प्राप्त उद्योगी÷निर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य जारी राखेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ।

गृह प्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन् कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिए।

गृह मन्त्रालय