



काठमाडौं। एउटा भनाइ छ- एक पटक सम्बन्ध टुटेपछि फेरि जोडिए पनि त्यसमा गाँठो भने रहिरहन्छ। अर्थात्, एकपटक सम्बन्धमा चिसोपन वा तिक्तता आएपछि त्यसलाई पहिलेजस्तै बनाउन निकै कठिन हुन्छ।
धेरैजसो अवस्थामा रिसको आवेगमा बोलिएका केही कठोर शब्दहरूले राम्रो सम्बन्धलाई समेत बिगार्न सक्छन्। यस्तो अवस्थाबाट बच्न ९० सेकेन्डको नियम निकै उपयोगी मानिन्छ। आउनुहोस्, यो नियम के हो र कसरी काम गर्छ भन्ने बुझौँ।
के हो ९० सेकेन्डको नियम ?
जब कुनै कुरा हामीलाई नराम्रो लाग्छ वा रिस उठ्छ, त्यसबेला हाम्रो मस्तिष्कमा रासायनिक प्रतिक्रिया (केमिकल रियाक्सन) हुन्छ, जसका कारण भावना निकै तीव्र बन्छ।
यस्तो तीव्र भावनात्मक प्रतिक्रिया सामान्यतया करिब ९० सेकेन्डसम्म रहन सक्छ। यही समयमा हामी धेरैजसो आवेगमा आएर त्यस्ता कुरा बोलिदिन्छौँ, जसको पछि पछुतो लाग्न सक्छ।
यदि यी ९० सेकेन्डसम्म आफूलाई संयमित राख्न सकियो वा तुरुन्त प्रतिक्रिया दिनबाट जोगिन सकियो भने रिस बिस्तारै कम हुन थाल्छ। तर ९० सेकेन्डपछि पनि रिस कायमै छ भने, त्यसको कारण प्रायः हामीले मनमै त्यही घटना वा कुरालाई बारम्बार दोहोर्याइरहेका हुन्छौँ।

सम्बन्धमा किन आवश्यक छ ९० सेकेन्ड नियम ?
धेरै सम्बन्धहरू साना–साना विवाद र आवेगमा बोलिएका शब्दका कारण बिग्रने गर्छन्। रिसमा भनिएको एउटा कठोर वाक्यले पनि वर्षौँदेखि बनेको विश्वास र मायामा असर पार्न सक्छ। त्यसैले सम्बन्धमा भावनात्मक सन्तुलन कायम राख्नु अत्यन्त आवश्यक हुन्छ।
त्यहाँ ९० सेकेन्डको नियम उपयोगी हुन्छ। कुनै कुरा चित्त नबुझेको वा रिस उठेको बेला तुरुन्त जवाफ फर्काउनुको सट्टा ९० सेकेन्डको छोटो विराम लिनुहोस्।
यस अवधिमा गहिरो सास फेर्नुहोस्, पानी पिउनुहोस् वा केही क्षण शान्त बस्नुहोस्। यसले मन र मस्तिष्कलाई शान्त बनाउँछ र तपाईंले आफ्नो कुरा बढी समझदारी, संयमता र संवेदनशीलताका साथ राख्न सक्नुहुन्छ।
यो बानी कसरी अपनाउने ?
रिस उठ्नेबित्तिकै आफूलाई सम्झाउनुहोस् कि यो भावना केही समयमै कम हुन सक्छ। गहिरो सास लिनुहोस् र बिस्तारै मुखबाट सास छोड्नुहोस्।
आवश्यक परे पानी पिउनुहोस् वा मन शान्त हुने कुनै सानो काम गर्नुहोस्, जस्तै मनपर्ने गीत गुनगुनाउनु। आफूलाई शान्त महसुस भएपछि मात्र प्रतिक्रिया दिनुहोस्।
यसरी प्रतिक्रिया दिनुअघि केही समय पर्खने बानीले अनावश्यक विवाद बढ्न दिँदैन र सही शब्द छनोट गरेर आफ्नो भावना व्यक्त गर्न मद्दत गर्छ।
सम्बन्ध ९० सेकेन्ड


