Logo
२१ पुस २०८२, सोमबार

बझाङका विद्यार्थीका लागि युवा नेता जाेशीले घोषणा गरे आकर्षक छात्रवृति

अक्षरपाटी
२०८२ पुस १९ , शनिबार ०८:०१ मा प्रकाशित

धनगढी। जेन–जी पुस्ताबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र जोशीले विपन्न युवाहरूका लागि आकर्षक छात्रवृत्ति घोषणा गरेका छन्।

सुदूरपश्चिमकाे विकट जिल्ला बझाङमा जन्मे, पढेका जाेशी यतिवेला आफै विद्यावारिधिको तयारीमा छन्। उनले आफूले भोगेको विकट गाउँको शैक्षिक अभावलाई अनुभूति गर्दै विपन्न युवाका लागि छात्रवृति घोषणा गरेका हुन्।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले एकल रुपमा उनलाई सर्वसम्मत सिफारिस गरिसकेको छ।

मृदुभाषी, युवा पुस्तामाझ लाेकप्रिय र अग्रजको सम्मानलाई सँधै प्राथमिकतामा राख्ने युवा नेता जाेशी विद्यार्थी राजनीति, संगठनात्मक नेतृत्व र सामाजिक कार्यमा निरन्तर योगदान दिँदै आएका कारण जिल्लामा चर्चित र उदाउँदो राजनीतिक अनुहारका रूपमा स्थापित छन्।

केही नयाँ शाेच र जाेशका कारण चर्चामा रहेका जाेशीले ‘जहाँ अभावले सपना रोक्छ, त्यहाँ बझाङका छोरा दिपेन्द्र जोशीको आशा पुग्छ’ भन्ने कथनसहित विपन्न र जेहेन्दार विद्यार्थीका लागि छात्रवृति उपलब्ध गराउने घाेषणा गरेका हुन्।

सुदूरपश्चिमका पहाड–गाउँमा आज पनि आर्थिक अभावकै कारण धेरै युवाका शैक्षिक सपना अधुरै छन्। याे सत्यलाई आफै पनि अनुभूत गरेकाेले विपन्न युवाहरूका लागि छात्रवृत्ति घोषणा गरेकाे उनले बताए।

उनकाे यो निर्णयले थुप्रै परिवारमा नयाँ आशा जगाएको विश्वास गरिएको छ। उनले जिल्लाबाट बीबीए पढ्न चाहने १० जना विद्यार्थीलाई ७० प्रतिशत छात्रवृति उपलब्ध गराउने घाेषणा गरेका छन्। त्यस्तै एमबीए अध्ययनका लागि ५ जनालाई ५० प्रतिशत र बीएससी तथा सीएसआईटी पढ्न चाहने जिल्लाबासी ५ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृति उपलब्ध गराउने बताएका हुन्।

‘याे छात्रवृत्ति काठमाडौंकव नयाँ बानेश्वरस्थित महर्षि कलेजमा अध्ययनका लागि उपलब्ध हुनेछ’, उनले भने, ‘सपना धनी हुनुपर्छ, परिवार होइन’ भन्ने सन्देश बोकेको मेराे यो पहल आर्थिक सहयोगमा सीमित छैन, यो सुदूरपश्चिमका युवाप्रति भरोसा र क्षमतामा विश्वासको सार्वजनिक प्रतिबद्धता हो।’

आर्थिक कारणले क्याम्पसको ढोकाबाट फर्किनु नपरोस् भन्ने उद्देश्यसहित गरिएकाे याे निर्णयले शिक्षा नै सामाजिक रूपान्तरणको आधार हो भन्ने तथ्य पुनः स्थापित गर्ने विश्वास नेता जाेशीको छ।

योग्यता, इच्छाशक्ति र वास्तविक आवश्यकता भएका युवाहरूका लागि यो अवसर भविष्यकाे सुन्दर ढाेका बन्ने विश्वास उनले व्यक्त गरे। बझाङबाट सुरु भएको याे पहल सुदूरपश्चिमभरिका युवाका सपनासँग जोडिएको पनि उनले बताए।

जोशी राजधानीको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्व सचिव रहिसकेका छन्। उनले विद्यार्थी राजनीतिका क्रममा विद्यार्थीका हक–हितका मुद्दा, संगठन विस्तार, नीति संवाद र पार्टीगत अभियानमा सक्रिय भूमिका निभाइसकेका छन्।

कांग्रेसभित्र स्थायित्वसहितको प्रभावशाली स्थान बनाएका उनी शैक्षिक रूपमा पनि उत्तिकै प्रतिबद्ध र सक्षम मानिन्छन्। हाल उनी वातावरण विज्ञानमा पीएचडी (विद्यावारिधी) अध्ययनरत छन्।

त्यसैगरी, जोशी नेपाल वातावरण समाजका केन्द्रीय सदस्यको रूपमा वातावरण संरक्षण, जलवायु सचेतना र दिगो विकासका मुद्दामा सक्रिय आवाजका रुपमा चिनिन्छन।

युवाहरूमाझ लोकप्रिय तथा प्रभावकारी मानिने उनी युवा संस्था–सञ्जालका केन्द्रीय उपाध्यक्ष समेत हुन्, उनी युवा नीतिप्रति समर्पित भएर काम गर्दै आएका छन्।

राजनीतिक संरचनामा औपचारिक भूमिकाको हिसाबले, उनी नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि रहेका छन्। स्थानीय जनताको अपेक्षा, जेन–जी पुस्ताको आकांक्षा र पार्टीभित्रको पुस्तान्तरणलाई जोड्ने पुलका रूपमा उनी बझाङसहित प्रदेशभरि चर्चित युवा नेताका रूपमा उभिएका छन्।

२०७९ सालमा पनि जोशी बझाङबाट समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भइसकेका थिए।

छात्रवृति दिपेन्द्र जोशी