Logo
२३ पुस २०८२, बुधबार

नीति अनुसन्धानको प्रमुख बने विष्णु रिमाल, ईश्वर पोखरेल हटाइए

अक्षरपाटी
२०८२ पुस २२ , मंगलबार ०२:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता ईश्वर पोखरेललाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख पदबाट हटाएको छ।

च्यासलमा सम्पन्न सचिवालय बैठकले पोखरेलको स्थानमा विष्णु रिमाललाई प्रतिष्ठानको नयाँ प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिन प्रस्ताव गरेका थिए। प्रस्ताव राख्दै ओलीले भने, ‘विष्णु रिमाल सक्षम र राम्रो व्यक्ति हुन्। यद्यपि उहाँ चुनाव हार्नुभएको हो, तर त्यसकै कारण जिम्मेवारीविहीन राख्न मिल्दैन।’

रिमाल नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार थिए। तर उनी केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए। सोही पराजयपछि अहिले उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व दिइएको हो।

पोखरेललाई जिम्मेवारीबाट हटाउने ओलीको प्रस्तावमा सचिवालयका केही पदाधिकारीले असहमति जनाएका थिए। उनीहरूले महाधिवेशन भर्खरै सम्पन्न भएको र निर्वाचन नजिकिँदै गएको सन्दर्भमा पार्टीलाई एकताबद्ध राख्न पोखरेललाई जिम्मेवारीबाट हटाउनु उपयुक्त नहुने तर्क गरेका थिए।

‘यस्तो संवेदनशील समयमा अनुभवी नेतालाई हटाउँदा पार्टीभित्र गलत सन्देश जान सक्छ,’ असहमति जनाउने पदाधिकारीहरूको भनाइ थियो।

तर अध्यक्ष ओली भने आफ्नो प्रस्तावमा अडिग रहे। अन्ततः बहुमतको निर्णयअनुसार पोखरेललाई हटाएर रिमाललाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाइएको हो।

यस निर्णयलाई एमालेभित्र शक्ति सन्तुलन र आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

नेकपा एमाले