Logo
७ वैशाख २०८३, सोमबार

राष्ट्रिय सभाका लागी एमालेले ८ र कांग्रेसले ९ उम्मेदवार टुंग्याए, भागबन्डामा अझै सहमति छैन

अक्षरपाटी
२०८२ पुस २३ , बुधबार १२:०१ मा प्रकाशित

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेका छन् । एमालेले ८ जना र कांग्रेसले ९ जना उम्मेदवारको नाम टुंगो लगाएका हुन् । दलहरूबीच चुनावी तालमेल र भागबन्डाबारे छलफल जारी रहेकै बेला यी निर्णय सार्वजनिक भएका छन् ।

नेकपा एमालेले १८ सदस्यका लागि हुने निर्वाचनमा ८ जना उम्मेदवार अघि सारेको छ । एमालेका तर्फबाट कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमती प्रदेशमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णाली प्रदेशमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै, नेपाली कांग्रेसले सातै प्रदेश समेट्दै ९ जना उम्मेदवार चयन गरेको छ । कांग्रेसका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जंगली’ र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार चयन भएका छन् ।

आजै राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम तय भए पनि कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीचको भागबन्डा सहमति भने अझै टुंगिन सकेको छैन । छलफलअनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट पाउने गरी सहमतिको प्रयास भइरहेको छ ।

सहमतिको प्रयास जारी रहँदै गर्दा दुवै प्रमुख दलले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेका हुन् ।

नेकपा एमाले नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )