

धनगढी। कैलाली जिल्लामा लगातार शीतलहर चल्दा चिसो अत्यधिक बढेपछि गौरीगंगा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा सात दिनका लागि बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोले बालबालिकाको स्वास्थ्य जोखिममा पर्नुका साथै कक्षा सञ्चालनमा समेत कठिनाइ देखिएको छ। सोही कारण पुस २४ गतेदेखि माघ २ गतेसम्म विद्यालय बन्द रहने गरी निर्णय गरिएको हो।
तराई क्षेत्र विशेषगरी कैलाली अहिले बाक्लो कुहिरो र हुस्सुले ढाकिएको छ। दिनभरि घाम नलाग्दा जनजीवन प्रभावित भएको छ भने चिसोबाट जोगिन सर्वसाधारण आगो ताप्न बाध्य छन्। यस अवस्थालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिकालगायतका स्थानीय तहहरूले दाउरा वितरण गरेर राहत प्रदान गरेका छन्।
मौसम चिसिँदै जाँदा धनगढी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। पहाडी क्षेत्रमा घाम लागे पनि तराईका जिल्लामा शीतलहरको प्रभाव अझै कायमै छ।
यसैबीच, बढेको चिसोका कारण आलु, तोरीलगायत हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन्। किसानहरूका अनुसार समयमै नियन्त्रण नभए उत्पादनमा ठूलो क्षति हुन सक्ने सम्भावना छ।




