Logo
२९ पुस २०८२, मंगलबार

मौन अवधिमा होलीको रङ, चुनावको नियम

अक्षरपाटी
२०८२ पुस २४ , बिहीबार १२:०१ मा प्रकाशित

रङ खेल्ने कि नियम पालना गर्ने ?

काठमाडौं । होली पर्व र संघीय संसद् निर्वाचन एकै समयमा नजिकिँदा मौन अवधिमा होली कसरी मनाउने भन्ने विषयले आम नागरिकलाई अन्योलमा पारेको छ। सामाजिक सञ्जालमा ‘१८ गते पहाडी होली, १९ गते तराई होली, अनि २१ गते नगराई नहुने चुनाव’ भन्ने व्यङ्ग्यात्मक टिप्पणी भाइरल भइरहँदा विषय थप चर्चामा आएको हो।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान अघिको ४८ घण्टा मौन अवधि लागू हुन्छ, जसअन्तर्गत कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न निषेध गरिएको छ। तर यही अवधिमा पर्ने होली पर्वका रङ, नारा, गीत–संगीत र समूहगत गतिविधि मौन अवधि उल्लङ्घन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा आयोगबाट स्पष्ट निर्देशन नआएकाले नागरिकमा अन्योल बढेको देखिन्छ।

कतिपयले होली सांस्कृतिक पर्व भएकाले सहज रूपमा मनाउन पाउनुपर्ने तर्क गरेका छन् भने केहीले राजनीतिक सन्देश मिसिन सक्ने गतिविधिमा संयम आवश्यक रहेको बताएका छन्। “होली खेल्दा प्रयोग हुने रङ, गीत वा नारा कसैको चुनाव चिह्नसँग मिल्न गयो भने अनावश्यक समस्या आउन सक्छ,” एक मतदाताले बताए।

निर्वाचनसम्बन्धी जानकारहरूका अनुसार होली खेल्न रोक छैन, तर उम्मेदवारको पक्ष–विपक्षमा अभिव्यक्ति, प्रचार सामग्रीको प्रयोग, चुनावी संकेत दिने रङ, नारा वा गीत प्रयोग गर्नु मौन अवधिको उल्लङ्घन मानिन सक्छ।

होलीको उत्साह र निर्वाचनको संवेदनशीलता एकैचोटि जुध्दा ‘रङ खेल्ने कि नियम पालना गर्ने ?’ भन्ने प्रश्न आम नागरिकको मनमा उब्जिएको छ। समयमै स्पष्ट मार्गनिर्देशन नआए अनावश्यक विवाद र कानुनी कारबाहीको जोखिम बढ्न सक्ने सरोकारवालाहरूको चिन्ता छ। निर्वाचन आयोगले चाँडै प्रष्ट निर्देशन दिए मौन अवधि र सांस्कृतिक पर्व दुवैको मर्यादा कायम रहने अपेक्षा गरिएको छ।