Logo
२१ फागुन २०८२, बिहीबार

प्रधानमन्त्रीका उम्मेदवारबीच बहसका लागी ओलीको प्रस्तावमा बालेनको ‘नो’

अक्षरपाटी
२०८२ माघ ११ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसको आह्वान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले त्यसमा सहभागी नहुने स्पष्ट पारेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले सार्वजनिक बहसको प्रस्ताव राखेका थिए। उक्त स्ट्याटसमा प्रतिक्रिया जनाउँदै बालेन शाहले आफू ओलीसँग बहसमा नबस्ने बताएका हुन्।

ओलीको आह्वानप्रति कडा शब्दमा प्रतिक्रिया जनाउँदै बालेनले लेखेका छन्,
‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठीकै छ। नेताहरूको घर कहाँ–कहाँ छन् भन्ने तपाईंहरूलाई नै थाहा थियो। २३ गते बच्चाहरू मारिएको आतङ्कवाद लुकाउन २४ गते देश जलाइएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौंला। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको ठहरिनेछ।’

प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस हुनुपर्छ भन्ने बहस चर्किरहेका बेला ओलीले यस्तो आह्वान गरेका थिए। उनले सामाजिक सञ्जालमा लेख्दै नयाँ र पुराना सबै राजनीतिक दल चुनावी मैदानमा रहेकाले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्।

‘पब्लिक डिबेटको माग पारदर्शिता र राजनीतिक जवाफदेहिताका लागि सकारात्मक हो,’ ओलीले लेखेका छन्, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइने प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित गर्ने प्रवृत्ति बढेकाले पनि यस्तो बहसको आवश्यकता महसुस भएको हुन सक्छ।’

ओलीले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ दलहरूसम्म प्रधानमन्त्रीका उम्मेदवारसहित मैदानमा उत्रिएको उल्लेख गर्दै नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा, विगतको काम र भविष्यको रोडम्याप सार्वजनिक बहसमार्फत प्रस्ट हुनुपर्ने बताएका छन्।

‘देशको नेतृत्व गर्न चाहने सबै प्रधानमन्त्रीका उम्मेदवारलाई एउटै मञ्चमा उभिएर आमने–सामने बहस गर्न आग्रह गर्दछु। मैले विगतमा गरेका काम र अब गर्ने योजनाबारे तथ्यसहित प्रस्तुत गर्न म तयार छु,’ ओलीले बताएका छन्।

एमाले सचिवालय बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सारेको छ। नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।

प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसको विषयले अहिले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।

केपी शर्मा ओली बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )