Logo
१८ माघ २०८२, आईतबार

कैलाली-४ मा कांग्रेस एकतावद्ध र बलियो छ : गोरख विष्ट ‘आनन्द’

अक्षरपाटी
२०८२ माघ ११ , आईतबार ०५:०१ मा प्रकाशित

धनगढी। नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेस एकतावद्ध र बलियो रहेको बताएका छन्। आज धनगढीमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा विष्टले उक्त कुरा बताएका हुन्।

‘कैलाली-४ मा लामो समयदेखि पार्टीमा अतुलनीय योगदान दिनु भएका योग्य नेताहरू हुनुहुन्छ। उहाँहरूप्रति मेरो उच्च सम्मान छ। यसपटक पार्टीले मलाई विश्वास गरेर टिकट दिएको छ। टिकट पाइसकेपछि मेरो क्षेत्रका सबै दिग्गज नेताहरूसँग मैले सम्पर्क र संवाद गरेँ। उहाँहरूले मलाई साथ, सहयोग र ऊर्जा दिइरहनु भएको छ। अब हामीमा कुनै मनमुटाव छैन। सबैको सहयोग छ र सबैलाई सहयोग गर्न पनि म अनुरोध गर्दछु,’ उनले भने।

उनले आफू विहत्त योजना बोकेर कैलाली-४ को निर्वाचनमा होमिएको बताएका छन्। उनले कसैको आलोचना नभइ एजेन्डा बोकेर जनताको घर दैलोमा पुग्न थालेको र चुनाव जितेको भोलि पल्टबाट नै आफूले गरेका प्रतिवद्धता पूरा गर्न नेतृत्वदायी तथा क्रियाशील भूमिका खेल्ने बताएका छन्।

‘हामी आफ्ना योजना र आफूले के गर्ने भन्ने एजेण्डा बोकेर जनतामा जानुपर्छ। सकारात्मक भावका साथ चुनावी प्रतिस्पर्धामा होमिनुपर्छ। चुनाव लोकतान्त्रिक प्रक्रिया हो। आलोचना मात्रै गर्ने संस्कार त्याग्नुपर्छ। म यसरी नै जनताको घरदैलोमा पुगिरहेको छु। मप्रति मेरो क्षेत्रका नेता, कार्यकर्ता र जनताले देखाएको प्रेमले निकै प्रभावित पारेको छ। उहाँहरूको स्नेहले मलाई निकै गम्भिर र जिम्मेवार बनाएको छ’, उनले भने।

उनले आफू कञ्चन मन बोकेर जनताको सेवा गर्ने उद्देश्यका साथ चुनावी प्रतिस्पर्धामा रहेको बताएका छन्। ‘म पवित्र भावका साथ कैलाली–४ का जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। म खुल्ला किताब जस्तै छु। हामीले चुनावी प्रतिस्पर्धा गर्दा अरु उम्मेदवारहरूलाई विभिन्न आरोप प्रत्यारोप गर्नु हुँदैन। कसैलाई गाली गर्नु हुँदैन। आफ्ना एजेण्डासहित जनतामा जानुपर्छ। यो हाम्रो लोकतान्त्रिक संस्कार पनि हो। म जनताको घरदैलोमा आफ्ना योजना र विचार बोकेर पुग्ने छु,’ उनले भनेका छन्।

यतिबेला विष्टले निर्वाचन क्षेत्रका जनता, समाजसेवी, पार्टीका नेता, कार्यकर्ता र राजनीतिक व्यक्तित्वहरूसँगको भेटघाट बाक्लो बनाएका छन्।