

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान उपकरण खरिद गर्दा भएको अनियमिततामा तत्कालीन उपकुलपति प्रा. डा. संगीता भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा उपकरण खरिद प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिटी स्क्यान खरिदका क्रममा ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएको छ। सोही रकम बराबरको बिगो जनही मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।
मुद्दामा तत्कालीन उपकुलपति डा. भण्डारीसँगै कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी तथा लेक्चरर डा. श्रीसिया पोखरेल पनि प्रतिवादी छन्।
यस्तै, तत्कालीन शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर र कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाहविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले सिटी स्क्यान आपूर्तिकर्ता हिमालयन मेडिटेक प्रालि तथा कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई पनि प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार खरिद प्रक्रिया कानुनविपरीत सञ्चालन गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइएको ठहर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग




