Logo
२४ फागुन २०८२, आईतबार

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा घण्टी बजाउँदै बालेन्द्र शाहको मौन अभियान सम्पन्न

अक्षरपाटी
२०८२ माघ १६ , शुक्रबार ०५:०१ मा प्रकाशित

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सबै १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पुग्दै घण्टी बजाउने अभियान पूरा गरेका छन्। चार दिन लामो यस भ्रमणका क्रममा उनले कुनै पनि स्थानमा सार्वजनिक सम्बोधन नगरी प्रतीकात्मक उपस्थितिमै आफ्नो अभियान सीमित राखेका छन्।

शुक्रबार दिउँसो अछामको विनायकमा घण्टी बजाएसँगै शाहको सुदूरपश्चिम भ्रमण सम्पन्न भएको हो। यसअघि उनले अछामका मंगलसेन र कमलबजारमा समेत छोटो समय बिताउँदै घण्टी बजाएरै कार्यक्रम सकेका थिए।

भ्रमणको पहिलो दिन शाहले कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्रमा पुगेर घण्टी बजाएका थिए। दोस्रो दिन डडेलधुरा, बैतडी र दार्चुला पुगेका उनी राति बझाङ गएका थिए। तेस्रो दिन बझाङबाट बाजुरा हुँदै अछाम–१ को साँफेबगर, त्यसपछि डोटी पुगेका शाहले चौथो दिन अछाम–२ का विभिन्न स्थानमा समय बिताएका थिए।

अछाम–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा आफ्ना स्वकीय सचिव भूपदेव शाहको निर्वाचन क्षेत्रमा पर्ने मंगलसेन, कमलबजार र विनायकमा उनले प्रत्येक स्थानमा पाँचदेखि दस मिनेट मात्रै समय दिएका छन्। शाहले पार्टी कार्यालयमा घण्टी बजाउने, गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्ने र बिना भाषण अर्को गन्तव्यतर्फ लाग्ने शैली अपनाएका छन्।

कमलबजारमा शाह पुग्ने खबरपछि समर्थकहरूले स्वागतको तयारी गरेका थिए। तर कुनै सम्बोधन नगरी घण्टी मात्रै बजाएर फर्किएपछि केही स्थानीय तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि र आलोचना व्यक्त गरेका छन्।

यद्यपि शाह निकट स्रोतहरूका अनुसार यो मौन र छोटो उपस्थितिको शैली नै उनको अभियान रणनीति हो। भाषणभन्दा पनि प्रतीकात्मक सन्देशलाई प्राथमिकता दिँदै उनले परम्परागत राजनीतिक संस्कृतिमाथि प्रश्न उठाउन खोजेको समर्थकहरूको भनाइ छ।

सुदूरपश्चिम भ्रमणभरि कुनै पनि स्थानमा सम्बोधन नगरी सम्पन्न गरिएको शाहको यो अभियानले राजनीतिक सन्देशभन्दा पनि शैली र रणनीतिलाई लिएर बढी बहस सिर्जना गरेको छ।

बालेन्द्र शाह