

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही जाने निर्णय निकै कठिन र भावनात्मक भएको बताएका छन्।
शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा कार्यक्रममा बोल्दै उनले सो निर्णय गर्दा आँसु रोक्न नसकेको बताए।
‘देशको नेतृत्व गर्दा मधेशलाई अंगालो हाल्नुपर्छ भन्ने मेरो मान्यता हो। म फुटाउने होइन, जोड्ने राजनीति गर्छु,’ थापाले भने।
काठमाडौं–४ छाडेर गएको भनिदिँदा मन दुख्ने बताउँदै उनले आफू काठमाडौंमै रहेको र नयाँ जिम्मेवारीका कारण मधेश गएको स्पष्ट पारे। उनले मधेशका मुद्दा बदल्न चाहेको पनि जिकिर गरे।
तीनपटक निर्वाचन जित्दा काठमाडौं–४ बाट ठूलो माया पाएको स्मरण गर्दै थापाले २०७९ को निर्वाचनमा पनि मतदाताले भरोसा दिलाएको बताए।
थापाले कांग्रेस नेताको अनुहार मात्र होइन, सोच, संकल्प र कार्यशैलीमै परिवर्तन भएको दाबी गरे। कांग्रेसले नयाँ पुस्ताको आह्वान स्वीकार गरी नयाँ जोशका साथ अघि बढेको उनको भनाइ थियो।
उनले सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र सिद्धान्तनिष्ठ राजनीतिप्रति नागरिकको अपेक्षा रहेको बताए। त्यसका लागि घर घर गएर त्यस्तो काँग्रेस निर्माणमा लाग्न अपिल गरे।
सभापति थापाले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन हुने र उम्मेदवार वडास्तरबाटै ‘प्राइमरी इलेक्सन’मार्फत छनोट गरिने जानकारी दिए।
पार्टीभित्र गुटबन्दी र भागबण्डा अन्त्य भएको दाबी गर्दै उनले अब टिकटका लागि पार्टी नेतृत्वको घर धाउन नपर्ने बताए।
गगन थापा नेपाली कांग्रेस




