Logo
१८ माघ २०८२, आईतबार

कैलाली–४ : ‘परीक्षण क्षेत्र’को आरोपकाबीच जनताको मन जित्ने प्रयासमा आनन्द

अक्षरपाटी
२०८२ माघ १७ , शनिबार ०१:०१ मा प्रकाशित

कैलाली। कैलाली क्षेत्र नम्बर ४ मा चुनावी प्रतिस्पर्धा केवल जित-हारमा सिमित छैन। यो निर्वाचन क्षेत्र नेपाली कांग्रेसका लागि विश्वास र चुनौतीको परीक्षणका रुपमा पनि हेरिएको छ।

यस क्षेत्रबाट आसन्न प्रतिनिभिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोरख बहादुर विष्ट ‘आनन्द’ उम्मेदवार रहेका छन्।

उनले आफूले लिएको जिम्मेवारीलाई सहज नभए पनि सुदूर सम्भावनासहितको चुनौतीका रूपमा हेरको छन्।

शनिबार गौरीगंगा नगरपालिकाका जनतासँग घरदैलोका क्रममा उनले यहाँका चुनौतीहरु आफूले बुझेको तर त्यहीँ सम्भावना पनि देखेको बताए।

‘विपक्षी दलहरूले कैलाली–४ लाई कांग्रेसको ‘परीक्षण क्षेत्र’ बनाइएको आरोप लगाइरहेका छन्’, उम्मेदवार विष्टले भने, ‘त्यस्ता आरोपको जवाफ भाषणबाट होइन, भोलिका दिनमा कामबाट दिन चाहन्छु।’

उनले निर्वाचन भनेको जनताको निर्णयमा निर्भर रहने बताए। ‘नेता र कार्यकर्ताले मात्र चुनाव जितिँदैन,’ उनले भने, ‘चुनाव जनताले जिताउने हो, त्यसैले म गाउँ–गाउँ, घर–घर पुगिरहेको छु। जनताको आदेश र निर्णयमा चल्न चाहन्छु।’

प्रवासमा लामो समय अनुभव बटुलेका विष्टले नेपाली कांग्रेसको प्रवास संगठनको लामो समय नेतृत्व गरेको अनुभव छ।

विदेशमा बस्दा देखेको व्यवस्थापन, सिकेको सीप र कार्यशैलीलाई उनले कैलाली–४ को विकाससँग जोडेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

‘मैले पढेको, भोगेको र सिकेको अनुभव यहीँ प्रयोग गर्न चाहन्छु,’ उनले भने, ‘अब सिकाइलाई आफ्नै माटोसँग जोड्ने समय आएको छ। म कुनै परदेशी होइन, यही क्षेत्रमा मेराे पनि घर छ। परिवारका सदस्य यहीँ बस्छन्।’

कैलाली–४ राजनीतिक प्रतिस्पर्धाको क्षेत्र मात्र नभएर, यो सम्भावनाको भण्डार भएको उनको भनाइ थियो।

ठूलो भूभाग चुरे क्षेत्रले ढाकिएको यो निर्वाचन क्षेत्रमा कृषि र पर्यटन दुवैको सम्भावना छ।
चुरेमा अदुवा, सुन्तला, अलैँची खेतीदेखि कालिज उत्पादन र प्राकृतिक पर्यटनको सम्भावना छ। उनले यी सम्भावनालाई योजनाबद्ध रूपमा विकास गरी स्थानीयलाई रोजगारी सिर्जना गर्ने बताए।

चुरे क्षेत्रका कैयौँ गाउँ अझै पनि बाटो, बिजुली, शिक्षा र स्वास्थ्य सेवाबाट टाढा छन्। विकासको मूलधारमा नजोडिएका ती बस्तीलाई नीतिगत सुधार र दीर्घकालीन योजनामार्फत सबल बनाउने प्रतिबद्धता विष्टले गरेका छन्।

चुरे ४ मा रहेकाे राणाकालीन गर्भा दरबार यहाँकाे पर्यटनकाे प्रमुख पूर्वाधार बन्ने सम्भावना बाेकेर बसेकाे छ। उनले यसखाले सम्भावनाकाे खाेजी र प्रवर्द्धनमा आफू लाग्ने बताए।

‘विकास नाराले होइन, नीतिले हुन्छ,’ उनी भन्छन्, ‘राज्यको ध्यान चुरेका विकट बस्तीमा पुर्‍याउन सकियो भने मात्रै समावेशी विकास सम्भव हुन्छ।’

पार्टीले दिएको जिम्मेवारीलाई गहन रुपमा ग्रहण गरेको बताउँदै विष्टले आफूलाई जित–हारको भन्दा विश्वासको राजनीतिमा उभ्याउन चाहेको बताए।

उनले भने, ‘यो निर्वाचन केवल मेरा लागि सांसद बन्ने दौड होइन, कैलाली–४ को भविष्यसँग जोडिएको मेरो गहन दायित्व हो।’

चुनावी सरगर्मी बढ्दै जाँदा, कैलाली–४ मा काँग्रेसबाट गोरख विष्ट ‘आनन्द’, नेकपा एमालेका लेखराज भट्ट, नेकपाबाट हरिराम चौधरी र रास्वपाका उम्मेद्वार खेमराज कोइराला निर्वाचनमा होमिएका छन्।

गाेरख बिष्ट