Logo
१८ माघ २०८२, आईतबार

अन्टार्टिकामा दौरा–सुरुवालसहित पहिलो म्याराथन, नेपाली धावकको विश्व कीर्तिमान

अक्षरपाटी
२०८२ माघ १८ , आईतबार ११:०२ मा प्रकाशित

काठमाडौं । संसारकै सबैभन्दा चिसो महादेश अन्टार्टिकामा नेपाली पोसाक दौरा–सुरुवाल लगाएर म्याराथन पूरा गर्दै नेपाली मूलका अमेरिकी धावक बाल जोशीले नयाँ इतिहास रचेका छन्।

वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ अन्तर्गत शनिबार सम्पन्न पहिलो चरणको दौडमा जोशीले माइनस २० डिग्री सेल्सियस तापक्रम सहँदै ४२ किलोमिटर दूरी तय गरेका हुन्। उनी दौरा–सुरुवालमा अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन्।

अन्टार्टिकाको स्थानीय समयअनुसार बिहान ३ बजे सुरु भएको म्याराथनमा ३२ देशका ५६ धावक सहभागी थिए। अत्यन्त प्रतिकूल मौसम र हिउँले ढाकिएको मैदानमा नेपाली पोसाकमै दौडिनु चुनौतीपूर्ण भए पनि जोशीले आत्मविश्वासका साथ दौड पूरा गरेका थिए। दौडको अन्त्यमा उनले नेपाली र अमेरिकी झण्डा फहराउँदै उपस्थित सबैको ध्यान खिचे।

सन् २०१५ देखि निरन्तर आयोजना हुँदै आएको ‘७७७’ म्याराथन सात दिनमा सातै महादेशमा सम्पन्न गरिने विश्वकै कठिन दौडमध्ये एक मानिन्छ। अन्टार्टिकाबाट सुरु भएको यो प्रतियोगिता अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप, दक्षिण अमेरिका हुँदै अन्त्यमा उत्तर अमेरिकामा समापन हुनेछ।

नेपाली कला, पहिचान र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित आफू नेपाली पोसाकमा दौडिरहेको जोशी बताउँछन्। अन्टार्टिकाको दौड पूरा गरेपछि उनी दोस्रो चरणको म्याराथनका लागि अफ्रिकाको केप टाउन पुगेका छन्।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी विगत दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। टेक्सास राज्यको ग्रेपभाइन सिटीमा बस्ने उनी पेशाले बैंकिङ क्षेत्रमा कार्यरत छन्।

स्वास्थ्यका लागि सुरु गरेको दौडलाई सामाजिक अभियानमा रूपान्तरण गरेका जोशीले सन् २०२१ यता मानव कल्याण र सामाजिक सन्देश बोकेर म्याराथन दौडिँदै आएका छन्। यसअघि उनले विश्वका विभिन्न देशमा आयोजना भएका २० भन्दा बढी अन्तर्राष्ट्रिय म्याराथन पूरा गरिसकेका छन्।