

अमरगढी। पारिवारिक पृष्ठभूमि र बाल्यकालदेखिकै प्रजातान्त्रिक विचारधाराका आधारमा नेपाली कांग्रेसमा आवद्ध भएकी अमरगढी नगरसचिव देवकी भट्टले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफू पार्टीकाे साधारण सदस्य समेत नरहेको घोषणा गरेकी छन्।
उनले सार्वजनिक गरेको वक्तव्यमा ऐतिहासिक पार्टीभित्र रहेर सामाजिक–राजनीतिक क्षेत्रमा काम गर्दा सधैं गौरवको अनुभूति गरेको समेत उल्लेख गर्दै भनेकी छन्, ‘राणा शासनविरुद्धको आन्दोलन, प्रजातन्त्र प्राप्ति तथा हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले जनताको पक्षमा खेलेको भूमिकालाई स्मरण गरेकी छु। बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रभावित भएर म पार्टीसँग आबद्ध भएकी हुँ।’
तर हाल इतिहासका मूल्य–मान्यताभन्दा पार्टी र नेताका व्यवहार, सोच र दृष्टिकोण फरक बन्दै गएकोमा उनले असन्तुष्टि जनाएकी छन्।
‘पार्टीभित्र इमानदार, लगनशील र योग्य कार्यकर्ताको मूल्याङ्कन नहुने। चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हावी बन्दै जाँदा पार्टी रूपान्तरण लगभग असम्भवजस्तै भएको छ’, उनले लेखेकी छन्।
उनको सबैभन्दा ठूलाे चित्त दुखाइ भने पार्टीका वयाेवृद्ध नेता शेरबहादुर देउवालाई गरिएको व्यवहारप्रति देखिन्छ। उनले पार्टीले सबैलाई समेटेर जनताको चाहनाअनुसार अघि बढ्नुपर्ने आवश्यकतालाई बेवास्ता गर्दै पार्टीका वरिष्ठ धरोहर शेरबहादुर देउवाप्रति गरिएको अपमानजनक व्यवहारले कांग्रेसमा रहेर सामाजिक–राजनीतिक गतिविधि अघि बढाउन कठिन महसुस भएको उल्लेख गरेकी छन्।
भट्टले पार्टीमा हुँदा सहयोग गर्ने साथीहरू, आफन्त, अग्रज नेतागण तथा निरन्तर प्रेरणा दिने जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
उनले भनेकी छन्, ‘सामाजिक-राजनीतिक क्षेत्रमा मेरा गतिविधि निरन्तर रहने प्रतिबद्धता गर्दछु। आजकै मितिबाट लागू हुने गरी अमरगढी नगरपालिका नगरसचिव र साधारण सदस्य दुवै पदबाट अलग हुने निर्णय गरेको जानकारी गराउँछु।’
आसन्न निर्वाचनकाे मुखमा उनले राजीनामा दिनु, पार्टीका पूर्वसभापति तथा अग्रज नेता शेरबहादुर देउवा चुनावी गतिविधिमा ननिस्कनुले यस क्षेत्रको चुनावी परिणाममा ठूलाे अर्थ राख्ने आंकलन गरिएको छ।





