

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल ले अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसर पारेर प्रेरणादायी कार्यक्रम आयोजना गरेको छ। हरेक वर्ष फेब्रुअरी १५ मा विश्वभर मनाइने यस दिवसको उद्देश्य बाल क्यान्सरबारे सचेतना फैलाउनु, उपचारमा पहुँच बढाउनु र प्रभावित परिवारलाई मनोबल प्रदान गर्नु हो।
अस्पतालले पछिल्लो सात वर्षदेखि निरन्तर रूपमा यो दिवस मनाउँदै आएको बाल क्यान्सर विशेषज्ञ डा. अन्जली पण्डितले जानकारी दिइन्। यस पटक निर्धारित मितिमा कार्यक्रम गर्न नसकिए पनि बालबालिकाको उत्साहलाई प्राथमिकता दिँदै शनिबार विशेष जमघट गरिएको उनले बताइन्।
कार्यक्रममा उपचार पूरा गरी स्वस्थ जीवन बिताइरहेका करिब ४५ जना बालबालिकाको सहभागिता रहेको थियो। उनीहरूले गीत, नृत्य र विभिन्न मनोरञ्जनात्मक गतिविधिमार्फत आफ्नो आत्मविश्वास प्रस्तुत गरे। वर्षौंअघि उपचार गराएर सामान्य जीवनमा फर्किएका बालबालिकालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै “बाल क्यान्सरको उपचार नेपालमै सम्भव छ” भन्ने सन्देश प्रवाह गरिएको अस्पतालले जनाएको छ।
डा. पण्डितका अनुसार बालबालिकामा लामो समयसम्म ज्वरो आइरहने, अत्यधिक थकान देखिने, रगतको कमी हुने, असामान्य सुजन वा अन्य शारीरिक परिवर्तन देखिएमा ढिलाइ नगरी परीक्षण गराउनु आवश्यक हुन्छ। प्रारम्भिक चरणमै रोग पहिचान भए उपचार प्रभावकारी हुने सम्भावना धेरै रहने उनले बताइन्।
कार्यक्रममा अभिभावकहरूले आफ्ना अनुभव पनि साझा गरे। एक अभिभावकका अनुसार छोरामा सुरुवाती दिनमा सामान्य ज्वरो र खोकी देखिए पनि पछि परीक्षण गर्दा गम्भीर समस्या पत्ता लागेको थियो। लामो उपचार प्रक्रियापछि अहिले बच्चा पूर्ण रूपमा स्वस्थ रहेको उनले बताए।
त्यस्तै, अर्की आमाले छोरीमा जन्मपछि केही महिनामै आँखासम्बन्धी समस्या देखिएको र जाँचका क्रममा तिलगंगा आँखा अस्पताल मा क्यान्सर पुष्टि भएको बताइन्। उपचारका क्रममा एउटा आँखा शल्यक्रिया गर्नुपरे पनि निरन्तर उपचारपछि बच्ची अहिले सक्रिय र खुसी जीवन बिताइरहेकी छन्।
अस्पतालका अनुसार यस्ता उदाहरणहरूले समयमै पहिचान र उपचारको महत्व स्पष्ट पार्छन्। नेपालमा बाल क्यान्सर उपचार सेवा विस्तार हुँदै गए पनि अझै राज्यको थप सहयोग, सहुलियत र पूर्वाधार सुदृढीकरण आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपाल क्यान्सर अस्पताल



