



काठमाडाैं। मंगलबार नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ। प्रतिनिधि सभाको निर्वाचनपछिको बैठकमा सभापति गगनकुमार थापाले पहिलो पटक औपचारिक रूपमा आफ्नो धारणा राखिरहेका छन्।
सभापति थापाले आफूले कुनै दबाबमा नभई इमानका साथ राजीनामा दिएको बताउँदै केन्द्रीय कार्यसमितिले अस्वीकार गरेपछि पुनः जिम्मेवारीमा फर्किएको जानकारी गराए।
उनले फागुन २१ को निर्वाचनमा भएको हारको जिम्मेवारी आफूले लिएको पनि उल्लेख गरे।
यसअघि चैत ६ र ८ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षा गर्दै थापाको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत भएपछि उनले पुनः केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।
सम्बोधनका क्रममा थापाले सुशासनको पक्षमा सधैं उभिने प्रतिबद्धता जनाउँदै प्रेस स्वतन्त्रता र अदालतको स्वतन्त्रतालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।
उनले विभिन्न भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै नयाँ बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका सुशासनमुखी हरेक कदममा साथ दिने बताएका छन्।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणबारे थप छलफल जारी रहने बताइएको छ।
गगन थापा नेपाली काँग्रेस



