



o शिवराज योगी
सुनसरीको इनरुवा बजारमा घामको झुल्कोसँगै सडकहरु ब्यस्त बन्दै जान्छन्। त्यही भीडमा हुइँकिन्छ एउटा सिटी सफारी।
यो यस्तो सफारी हो जसले यात्रु मात्रै ओसार्दैन- यसको स्टेरिङ सम्हालिरहेकी ‘आमा’को हृदयमा सन्तानप्रतिको स्नेह, परिवारप्रतिको जिम्मेवारी र स्वदेशमै केही गरिखान सकिने प्रेरणा पनि गुडिरहेको हुन्छ।
हो, उमेरले ४३ वशन्त टेकेकी कल्पना दाहालले कुनै दिन तमामाैँ नेपालीले रोजेकै बाटाे राेजिन्। आर्थिक उपर्जनका लागि विदेश जान उनले पनि भिजा लगाइन्। प्लेनको टिकट काटिन् र राहदानी बोकेर एयरपाेर्ट पुगिन्। त्यो समय आजभन्दा १२ वर्ष अघिको थियो।
एयरपाेर्टकै आँगनबाट कल्पनाको यात्रा आत्मनिर्भताको बाटोतिर मोडिन्छ । जब हातमा टिकट बोकेर विमानस्थल पुगिन्, कल्पनाको आँखाअघि अवोध छाेराछाेरीको अनुहार घुम्न थाल्यो। मन एकाएक भारी भएर आयो। भत्भती पोल्न थाल्यो। अन्ततः उनले हातको टिकट त्यहीँ मिल्काइन्। विदेश जाने सपना च्यातेर बालबच्चाको मायाका अघि आफूलाई हराइदिन्।
सन्तानको मायाले ब्याकुल बनेका आँखाबाट झरेका आँशुसँगै विदेशिने सपना पखालिदिइन्। उनको यही कठाेर र साहसी निर्णयले उनको जीवनमा अर्कै मोड ल्याइदियो। उनी घर फर्किइन्। घर पुगेर चुपचाप भने बसिनन्। स्वदेशमै केही गरेर देखाउने अठाेट लिइन्।

घर फर्किएपछि उनले सहकारीबाट ऋण लिएर सिटी सफारी किनिन्। घरपरिवार र श्रीमानले उनको योजनामा पूर्ण साथ र समर्थन दिए तर सफारी भने कल्पना आफैले चलाउने सहमति भयो। अनि सुरु भयो उनको संघर्षले भरिएको प्रेरणादायी यात्रा सडकमा।
विदेश गए पनि काम त गर्नैपर्छ, बोटमा फलेको पैसा टिप्ने होइन क्यार! काम सानो–ठूलो हुँदैन, बालबच्चा छाेडेर, परिवारदेखि टाढिएर हामी विदेशमा जस्तो पनि काम गर्न मजबुर हुने, अनि आफ्नै देशमा पाैरख गरेर खाँदा कसरी सानाे भइन्छ र ?
‘विदेश गए पनि काम त गर्नैपर्छ, बोटमा फलेको पैसा टिप्ने होइन क्यार!’, अक्षरपाटीसँग कल्पनाले भनिन्, ‘काम सानो–ठूलो हुँदैन, बालबच्चा छाेडेर, परिवारदेखि टाढिएर हामी विदेशमा जस्तो पनि काम गर्न मजबुर हुने, अनि आफ्नै देशमा पाैरख गरेर खाँदा कसरी सानाे भइन्छ र ?’
यही आत्मविश्वासले कल्पना पछिल्लो १२ वर्षदेखि इनरुवाकाे सडकमा निरन्तर हुइँकिरहेकी छन्। त्यो पनि आफ्नै माटाेमा, आफन्तकै वरपर आत्मविश्वासका साथ।
सुरुवाती दिन त्यति सजिला भने थिएनन्। समाज एकथरी साेच र दृष्टि भएका मानिसहरुले बनेको हुँदैन। त्यसबेला केही मानिसहरूले उनलाई अनौठो नजरले हेरे। अनेकन अडकल गरे।
‘छोरी मान्छे भएर पनि घर बाहिरको काम गर्ने ? त्यो पनि सफारी चलाउने?’, कल्पनाले भनिन्, ‘हामी छाेरी मान्छेले बाहिरको काम गर्दा समाजलाई लाग्दाे रहेछ- दुःख परेर होला, बाध्यता भएर होला, कि श्रीमानबाट दु:ख पाएर होला। तर हाम्रो समाजमा खाली बस्नुभन्दा इलमी हुनु राम्रो भन्ने सोच धेरै कममा हुँदोरहेछ।’
तर कल्पनाले ती सबै सोचलाई आफ्नो आत्मबलले जितेर अघि बढिरहिन्। सफारीको स्टेरिङलाई अनेकन घुम्ती र मोडहरुमा घुमाइरहिन्।
म बेरोजगार बस्न चाहन्नँ थिएँ। आफूले सकेको सबैले गर्ने हो भने परिवार सबल बन्छ भनेरै गरेकी हुँ।
‘मैले यो पेशा केही गर्न नसकेर वा पुग्दै नपुगेर गरेको होइन,’ उनी दृढताका साथ भन्छिन्, ‘म बेरोजगार बस्न चाहन्नँ थिएँ। आफूले सकेको सबैले गर्ने हो भने परिवार सबल बन्छ भनेरै गरेकी हुँ।’ उसो त चाहेको भए उनी पनि सरकारी जागिर वा सँघसँस्थामा रोजगार गर्न सक्थिन्। ‘तर म कसैको अधिनमा रहेर बस्नसक्ने स्वभावकी छैन’, उनले भनिन्, ‘आत्मगाैरव ठूलो कुरा हो।’
उनको यो निर्णय उनकै परिवारका लागि मात्र होइन, समाजका अन्य दिदीबहिनीका लागि पनि प्रेरणा बन्यो। आज उनीबाटै प्रेरित भएर ९ जना महिला दिदीबहिनीहरु उनकै बाटो पछ्याइरहेका छन्। तीमध्ये कति श्रीमानबाट सम्बन्ध विच्छेद भएका, कति आर्थिक अप्ठेरोमा परेकाहरु थिए। जो आज आत्मसम्मानका साथ जीवन यापन गर्न सकिरहेका छन्।

‘मैले आफू केही गर्नुपर्छ भनेर समातेको बाटाे अरु दिदीबहिनीका लागि पनि प्रेरणा बनेको देख्दा निकै शन्तुष्टि मिल्छ’, कल्पनाले भनिन्।
चिनेजानेका र साेध्न आउने महिलालाई उनी विदेश नजान सुझाव दिन्छिन्। उनीहरुलाई स्वरोजगार बन्न सकेकाे सघाउँछिन्। किनकि उनले देखेकी छन्, आमाको अभावले कति घरहरू भताभुंग भएका छन्। बालबच्चा बिग्रिएका छन्।
चिनेजानेका र साेध्न आउने महिलालाई उनी विदेश नजान सुझाव दिन्छिन्। उनीहरुलाई स्वरोजगार बन्न सकेकाे सघाउँछिन्। किनकि उनले देखेकी छन्, आमाको अभावले कति घरहरू भताभुंग भएका छन्। बालबच्चा बिग्रिएका छन्।
‘विदेशमा पैसा त कमाइन्छ होला, तर छोराछोरीले आमाको माया पाउँदैनन्,’ उनी भन्छिन्, ‘यहाँ सानै काम गरे पनि परिवारसँगै बस्न पाइन्छ। बालबच्चाको रेखदेख हुन्छ। त्यसैले विदेशको एक भन्दा स्वदेशकै आधा जाति भयो नि।
आज कल्पनाको सफारी यात्रा प्रेरणा मात्र होइन प्रसंशा समेत बन्न थालेको छ। इनरुवा नगरपालिका र विभिन्न संस्थाहरूले उनलाई पटक–पटक सम्मान गरिसकेका छन्।
तीन सन्तानमध्ये दुई छोरी स्नातक तहमा पढाइरहेकी छन्। छोरा कक्षा ११ मा अध्ययनरत छन्। सन्तानहरु पढाइमा मात्र हाेइन सँस्कारमा पनि सबल भएको देख्दा उनलाई आफ्नै कर्म धन्य लाग्छ।
‘म विदेश गएको भए आमाबिना हुर्कनुपर्दा छाेराछाेरी कुन बाटाेमा पो हिँड्थे !’, उनले भनिन्, ‘सिटी सफारी चलाएर दैनिक जीवन मात्रै सहज भएन, सन्तानको रेखदेख भयो, श्रीमानको साथ रह्ये, सम्मानजनक जीवन पनि बाँचिरहेकी छु।’
सुनसरीको चक्रघट्टीमा जन्मिएकी कल्पना २३ वर्षअघि विवाह गरेर इनरुवा आएकी हुन्। घरगृहस्थीका क्रममा विदेश जान हिँडेकी आमाको मन छाेराछाेरिको मायाले रोकेपछि सफारी चालक बनिन्। सुरुमा उनलाई हेर्ने नजर फरक भए पनि आज त्यो नजर सम्मानमा बदलिएको छ।
उनको त्याग र संघर्षले एउटा सन्देश दिन्छ: सपना सधैं विदेशमै पूरा हुँदैनन्। सपनाको फूल त आफ्नै माटोमा पनि फक्राउन सकिन्छ।
अनुकरणीय कथा कल्पना दाहाल शिवराज योगी सिटी सफारी



