Logo
७ वैशाख २०८३, सोमबार

त्रिवेणी सहकारीको सन्देश : सपना र महत्त्वाकांक्षा कहिल्यै अपाङ्ग हुँदैन

अक्षरपाटी
२०८३ वैशाख ७ , सोमबार ०९:०४ मा प्रकाशित

o पवन अधिकारी

झापा । झापा दमककी मनमाया तिम्सिना शारीरिक रूपमा अपाङ्ग छिन्। उनी दृष्टिविहीन हुन्। यस्तै मदनकुमार बोहरा पनि शारीरिक रूपमा अपाङ्ग छन्।

तिम्सिना र बोहरा प्रतिनिधि पात्र मात्रै हुन् । दमक नगरपालिका–८ मा रहेको एउटा यस्तो सहकारीका छ, जहाँ पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरू सञ्चालक छन्।

त्यो मात्र होइन, यस सहकारीका ऋण लिने तथा सेयर धनी पनि अपाङ्गता भएका व्यक्ति वा उनीहरूसँग जोडिएका परिवार छन्।

शरीरले अपाङ्गता भए पनि उनीहरुको सपनाको उडान भने निकै उँचाे छ। उनीहरूको आँखामा अझै भविष्यका सुनाैला सपना छन्। र, ती सपनालाई साकार पार्ने सशक्त माध्यम बनेको छ—दमकको त्रिवेणी अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड।

२०५८ सालमा जम्मा ५० जना सदस्य र १० हजार रुपैयाँको नगन्य पुँजीबाट सुरु भएको यो सहकारी आज ६५ लाख रुपैयाँ सेयर पुँजीसहित लाेभलाग्दाे यात्रामा छ।

२०५८ सालमा जम्मा ५० जना सदस्य र १० हजार रुपैयाँको नगन्य पुँजीबाट सुरु भएको यो सहकारी आज ६५ लाख रुपैयाँ सेयर पुँजीसहित लाेभलाग्दाे यात्रामा छ।

अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, आत्मनिर्भर बनाउने र समाजमा आत्मसम्मानको जीवन यापन गर्ने उद्देश्यसहित संस्था निरन्तर अघि बढिरहेको छ।

हाल सहकारीमा ४४१ जना सेयर सदस्य आबद्ध छन्। न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म सेयर लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

ऋण सुविधा विशेषगरी अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार र महिलालाई प्राथमिकतामा राखेर प्रदान गरिन्छ। बिना धितो १ लाख रुपैयाँसम्म र धितो राखेर अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने गरेकाे संस्थाका अध्यक्ष मदन कुमार बोहराले बताए।

सहकारीको सबैभन्दा सुन्दर पक्ष यसको नेतृत्व र कर्मचारी हुन्। संस्थाका अध्यक्ष शारीरिक रूपमा अपाङ्ग बोहरा हुन् भने उपाध्यक्षको जिम्मेवारी दृष्टिविहीन मनमाया तिम्सिनाले सम्हालेकी छन्।

यस सहकारीको सबैभन्दा सुन्दर पक्ष यसको नेतृत्व र कर्मचारी हुन्। संस्थाका अध्यक्ष शारीरिक रूपमा अपाङ्ग बोहरा हुन् भने उपाध्यक्षको जिम्मेवारी दृष्टिविहीन मनमाया तिम्सिनाले सम्हालेकी छन्।

यहाँ कार्यरत ३ जना कर्मचारी पनि अपाङ्गता भएका व्यक्ति नै हुन्। उनीहरूकै मेहनत, समर्पण र प्रतिबद्धताले संस्था आरोहको यात्रामा छ।

संस्थाका व्यवस्थापक पीताम्बर घिमिरे, जो स्वयं शारीरिक रूपमा अपाङ्ग छन्, विगत १० वर्षदेखि संस्थाको दैनिक कार्य सञ्चालन गर्दै आएका छन्। उनी भन्छन्, ‘यो केवल सहकारी होइन, यो अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूको आत्मनिर्भरताको यात्रा हो।’

अध्यक्ष बोहराका अनुसार संस्थाले हालसम्म गरेका कामहरू प्रभावकारी रहे पनि ती उपलब्धिहरूलाई आम जनतामाझ स्पष्ट रूपमा पुर्‍याउन अझै चुनौती छ।

उनले भने, ‘हामी सफ्टवेयरमार्फत नै सर्वसाधारणलाई सेवा दिइरहेका छौँ, तर हाम्रो कामको वास्तविक प्रभाव सबैले बुझ्ने गरी प्रस्तुत गर्न अझै प्रयास आवश्यक छ।’

संस्थाले बजारको अवस्थालाई ध्यानमा राख्दै आफ्नो सञ्चालन प्रणालीलाई लचिलो बनाएको छ। स्थानीय बजार शुक्रवार बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि शनिवार पनि संस्था खुला राख्ने व्यवस्था गरिएको छ।

संस्थाले बजारको अवस्थालाई ध्यानमा राख्दै आफ्नो सञ्चालन प्रणालीलाई लचिलो बनाएको छ। स्थानीय बजार शुक्रवार बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि शनिवार पनि संस्था खुला राख्ने व्यवस्था गरिएको छ। खर्च व्यवस्थापनमा समेत संस्था सन्तुलित र सफल देखिएको अध्यक्ष बोहराले जानकारी दिए।

अपाङ्गता भएका व्यक्तिहरूका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै दमक नगरपालिकाले यस सहकारीलाई उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिसकेको छ। न्यून आय भएका व्यक्तिहरूलाई समेट्ने उद्देश्यले सुरु गरिएको संस्था प्रारम्भमा तीनवटा बचत समूहका रूपमा सञ्चालनमा थियो। समान प्रकृतिका ती समूहलाई एकीकृत गर्दै विसं २०५८ मा सहकारीको रूप दिइएको हो।

संस्थामार्फत अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीहरूको ब्रान्डिङसमेत गरिँदै आएको छ। सहकारीबाट एक लाख रुपैयाँ ऋण लिएर छुर्पी व्यवसाय सुरु गरेका लोकबहादुर राई अहिले तीन जनालाई रोजगारी दिँदै सफल उद्यमीका रूपमा स्थापित भएका छन्। यसबाहेक, सदस्यहरू कुचो बनाउने, मुढा बुन्ने लगायत घरेलु उत्पादनमा सक्रिय छन् ।

अध्यक्ष बोहरा भन्छन्, ‘हामीले संस्थालाई उत्कृष्ट बनाउन दिन–रात मेहनत गरेका छौँ। दमकबासीको विश्वास जितेका छौँ । हामी राज्यको भार होइन, राज्यलाई कर तिर्न सक्ने नागरिक हौँ भन्ने प्रमाणित गरेका छौँ।’

उनका अनुसार झापामा यस्तै प्रकृतिका चारवटा सहकारी सञ्चालनमा छन् र उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायबाट थप सहयोग प्राप्त भए अझ ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास उनीहरुको छ।

संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्रीहरू तत्काल समन्वय गरी उपलब्ध गराउँदै आएको छ। साथै, दमक अपाङ्ग समन्वय समितिसँग सहकार्य गर्दै बीउ पुँजी उपलब्ध गराउने काम पनि निरन्तर रूपमा भइरहेको छ।

संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्रीहरू तत्काल समन्वय गरी उपलब्ध गराउँदै आएको छ। साथै, दमक अपाङ्ग समन्वय समितिसँग सहकार्य गर्दै बीउ पुँजी उपलब्ध गराउने काम पनि निरन्तर रूपमा भइरहेको छ।

यस सहकारीबाट ऋण लिएर जीवन रूपान्तरण गर्नेहरूको सङ्ख्या पनि उल्लेखनीय छ। शारीरिक रूपमा अपाङ्ग गणेश बोहराले ५ लाख रुपैयाँ ऋण लिएर पाँच वर्षअघि थुक्पा–मोमो फ्याक्ट्री सुरु गरे। आज उनी आफ्नै व्यवसायबाट राम्रो आम्दानी गर्दै परिवार सम्हालिरहेका छन्। उनको सफलतालाई संस्थाले विशेष सम्मानसमेत गरेको छ।

त्यस्तै, पर्वता श्रेष्ठले १० लाख रुपैयाँ ऋण लिएर सिलाइ–कटाइ व्यवसाय सुरु गरिन्। आज उनी आत्मनिर्भर मात्र होइनन्, आत्मविश्वासी पनि बनेकी छन्। उनी भन्छिन्, ‘पहिले मलाई लाग्थ्यो, अपाङ्गताले गर्दा म केही गर्न सक्दिनँ। तर यो सहकारीले मलाई बाटो देखायो। अब म आफैँमा विश्वस्त छु। शरिरभन्दा आँटले गर्न सकिन्छ भन्नेमा ढुक्क भएकी छु।’

संस्थाभित्र हाल १० वटा समूह सक्रिय छन्, जहाँ अपाङ्गता भएका सदस्यहरूको उल्लेख्य सहभागिता छ। युवा स्वरोजगार कोषबाट समेत सहयोग प्राप्त भएको छ। यद्यपि, यात्रा सहज भने छैन।

उपाध्यक्ष तिम्सिना भन्छिन्, ‘हाम्रा धेरैजसो सदस्य निम्न आय भएका छन्। बचत सङ्कलन गर्न निकै कठिन छ, विश्वास कायम राख्न झन् चुनौती छ। आर्थिक मन्दीले ऋण वितरण र लगानी विस्तारमा पनि असर पारेको छ।’

यद्यपि संस्थाले नियमअनुसार ब्याजदर कायम गर्दै आएको छ र सदस्यहरूको बचत फिर्तामा कुनै समस्या आएको छैन। अर्जुनधारामा पनि अपाङ्गता भएका व्यक्तिहरूले यस्तै सहकारी सञ्चालन गरिरहेको खबरले यो अभियान दमकबाट मात्र नभई झापाभर फैलिँदै गएको सङ्केत गर्छ।

त्रिवेणी सहकारीले एउटा महत्त्वपूर्ण सन्देश दिइरहेको छ- अपाङ्गता त केवल शारीरिक अवस्था हो, सपना र महत्त्वाकांक्षा कहिल्यै अपाङ्ग हुँदैन। उनीहरूको मेहनत, अठोट र सहकार्यले समावेशी, आत्मनिर्भर र सम्मानजनक समाज निर्माण गरिरहेको छ, जहाँ हरेक व्यक्ति आफ्नै खुट्टामा दृढतापूर्वक उभिन सक्ने हुँदै गएको छ।

अनुकरणीय कथा त्रिवेणी सहकारी

ट्रेन्डिङ ( साप्ताहिक )