Logo
१३ मंसीर २०८३, आईतबार

मंसिर १७ मा ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

अक्षरपाटी
२०८३ मंसीर १२ , शनिबार ०२:११ मा प्रकाशित

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको सुनिश्चितताका लागि आवाज उठाउँदै ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आगामी मंसिर १७ गते बिहीबार मनाइने भएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३ मा मनाइने दिवस यस वर्ष ‘The CRPD at 20: Building on Progress, Advancing the Future’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मनाइँदैछ।

यसको नेपाली रूपान्तरण ‘२० वर्षे सिआरपिडी: प्रगतिको खोजाइ; समुन्नत भविष्यको रोजाइ’ तय गरिएको छ।

दिवसका अवसरमा नेपालका लागि ‘अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार: महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ।

यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति हासिल गर्नुपर्ने सन्देश दिएको छ।

नेपालको राष्ट्रिय नाराले भने अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै समावेशी, पहुँचयुक्त र समतामूलक समाज निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयन र सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएको छ।

दिवसले अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिको दृष्टिले मात्र नभई समान अधिकार, अवसर र सम्मानका हकदार नागरिकका रूपमा स्थापित गर्न राज्य तथा समाजको भूमिका थप प्रभावकारी बनाउनुपर्ने सन्देशसमेत दिनेछ।

नेपालमा पनि दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिको अधिकार, पहुँच, सहभागिता र सामाजिक समावेशीकरणका विषयमा विभिन्न कार्यक्रम आयोजना गरिनेछन्।