Logo
२१ वैशाख २०८३, सोमबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटना : दुई भारतीय नागरिकको मृत्यु, एक बालक गम्भीर घाइते

अक्षरपाटी
२०८३ वैशाख २१ , सोमबार १०:०५ मा प्रकाशित

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार राति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा भारत, उत्तर प्रदेशको बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएकोमा अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

उक्त दुर्घटनामा घाइते भएका ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

ट्याक्टर दुर्घटना