



धनगढी । कैलालीको गोदावरी नगरपालिका का मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाएको अवस्थामा दुर्घटनामा परेको खुलेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मेयर भट्टलाई मापसे गरेर गाडी चलाएको आरोपमा पाँच सय रुपैयाँ तथा लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा थप पाँच सय रुपैयाँ गरी कुल एक हजार रुपैयाँ जरिबाना गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्य ले जरिबाना तिरेपछि नियन्त्रणमा रहेको गाडी कागज गराएर छाडिएको जानकारी दिए। उनका अनुसार मेयर भट्टले आफन्तमार्फत जरिबाना बुझाएका थिए।
शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गेटा क्षेत्रमा मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार घटनापछि स्थानीयले खबर गरेपछि गाडी नियन्त्रणमा लिइएको थियो। राति तत्काल मापसे परीक्षण हुन नसके पनि मेयर भट्टले स्वयं मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट



