



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने ले पार्टीभित्र गुटबन्दी नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार ललितपुरमा आयोजित पार्टी सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले ‘रविको मान्छे’ र ‘बालेनको मान्छे’ भन्दै विभाजन सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसमा नलाग्न आग्रह गरे।
उनले व्यक्तिगत स्वार्थ वा पदका लागि नभई देशको भविष्य र राजनीतिक परिवर्तनको साझा उद्देश्य बोकेर आफूहरू एक ठाउँमा उभिएको बताए।
“म यताको, म उताको भन्ने कारणले केही साथीहरू मन्त्री बन्नुभएन होला । तर हामी एउटा कार्यकालका लागि मात्रै होइन, देशको भविष्यका लागि सहकार्य गरिरहेका हौं,” उनले भने, “व्यक्तिगत विषयलाई माग र मुद्दा बनाएर हिँड्ने ठाउँ अब छैन । पार्टी फुट्ने कुनै सम्भावना नै छैन ।”
सभापति लामिछानेले ७० वर्षअघि राजनीतिक रूपमा एकजुट हुनुपर्ने शक्तिहरूबीच असहमति हुँदा देश पछाडि परेको टिप्पणी गर्दै अहिले त्यस्तो गल्ती दोहोरिन नदिने बताए।
उनले प्रधानमन्त्री शाही र आफूबीच कुनै व्यक्तिगत स्वार्थका आधारमा सहकार्य नभएको स्पष्ट पार्दै अहिलेको सहकार्य राजनीतिक उद्देश्यका लागि भएको बताए।
पार्टी फुटको चर्चा गर्ने केही सञ्चारमाध्यमप्रति संकेत गर्दै उनले रास्वपा राजनीतिक रूपमा परिपक्व भइसकेको दाबी गरे।
“कहिलेकाहीँ मिडियामा फुटको हल्ला चलाइन्छ । मुख मिठ्याउने प्रयास धेरै हुन्छ,” उनले भने, “तर त्यो सम्भव छैन । हामी राजनीतिक रूपमा परिपक्व छौं ।”
फरक प्रसंगमा उनले सुकुमवासीहरूको व्यवस्थापनका लागि सरकार गम्भीर रूपमा काम गरिरहेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन बनाइने अवस्था नआउने स्पष्ट पारे।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी



