


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दलभित्रै असन्तुष्टि चुलिएको छ। कांग्रेसका केही प्रदेशसभा सदस्यले शाहलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
सांसद दिवान सिंह विष्टको नेतृत्वमा ९ जना प्रदेशसभा सदस्यले प्रस्ताव दर्ता गराएका हुन्। प्रस्ताव दर्ता भएसँगै सुदूरपश्चिम कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तनको चर्चा तीव्र बनेको छ।
विष्टका अनुसार कांग्रेसका एक सांसद हाल विदेशमा रहेकाले सक्रिय १७ सांसदमध्ये बहुमत सदस्यले नेतृत्व परिवर्तनको पक्षमा समर्थन जनाएका छन्। उनले दललाई प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ नेतृत्व आवश्यक रहेको दाबी गरेका छन्।
असन्तुष्ट पक्षले दिवान सिंह विष्टलाई संसदीय दलको नयाँ नेताको रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ। यद्यपि मुख्यमन्त्री शाह पक्षले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
शाह नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन्। पछिल्ला दिनमा पार्टीभित्र देखिएको गुटगत समीकरणको प्रभाव प्रदेश राजनीतिमा समेत देखिन थालेको विश्लेषण गरिएको छ।
यसअघि बागमती प्रदेशमा पनि कांग्रेस संसदीय दलको नेतृत्व परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको थियो। त्यसपछि भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको थियो।
कमलबहादुर शाह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश

