



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
महामन्त्री डा. धवलशमशेर राणानिकट नेता तथा कार्यकर्ताहरूले बिहीबार संयुक्त रूपमा पार्टी छोडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायतका नेताहरू रहेका छन्।
उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आत्मकेन्द्रित कार्यशैलीका कारण राप्रपाले आफ्नो मूल नीति, सिद्धान्त र आन्दोलनको उद्देश्यबाट विचलित भएको आरोप लगाएका छन्।
परित्याग गर्ने नेताहरूले लिङ्देन नेतृत्वले राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको तथा आन्दोलनलाई कमजोर बनाएको दाबी गरेका छन्।
पार्टीका प्रभावशाली नेताहरूको सामूहिक बहिर्गमनसँगै राप्रपाभित्रको विवाद थप गहिरिने र पार्टी विभाजनको सम्भावना बलियो बनेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।









