



o प्रदिया राज्यलक्ष्मी शाह
समयको नदीमा हामी
अनायासै भेटिएका किनार हौँ,
केही बेर एउटै चाैतारीमा बसेर
आफ्ना दुःख–सुख साट्ने यात्री जस्तै ।
हामीले देखेका सपनाहरू
बालुवामा कोरिएका चित्र जस्तै रहे,
छाल आयो कि मेटिन तयार,
छुन नपाउँदै हराउन अभिशप्त !
हाँसोहरू बिस्तारै सम्झनामा थन्किए,
कसमहरू मौनताको भारी बन्दै गए
हामीले जोगाउन खोजेको सम्बन्ध
समयकै हातबाट चिप्लिँदै गयो ।
साहेब !
संसारमा संयोग क्षणिक हो र वियोग अनन्त…।
छातीमा आज साथको तातोपन
जुन बाँचेको छ,
भोलि त्यही तातोपन
आँसुको कारण बनिदिन सक्छ !
किनकि,
यहाँ भेट्नु केवल कारण हो,
छुट्नु भने नियति ।
मानिसहरू आउँछन्,
जीवनलाई अर्थ दिन्छन्,
र अर्थ बुझाइसकेपछि
शब्दबिनै अलप हुन्छन् ।
कतिपय वियोगहरू
छुट्टिँदैमा सकिँदैनन्,
उनीहरू त हरेक सम्झनामा
नयाँ-नयाँ गरी बाँच्छन् ।
अन्ततः बाँकी रहन्छ
केही थान सम्झना
अनि एउटा स्वीकारोक्ति
कि यो संसार
भेटको होइन,
छुट्टिने अभ्यासको पाठशाला रहेछ !



