



काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसदमा प्रतिपक्षको आवाज नसुनी सरकार एकोहोरो अघि बढिरहेको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै उक्त भनाइ सच्याउन पुनः माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको जवाफ माग गरेको एक महिनाभन्दा बढी समय बितिसकेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित आन्दोलन गरिरहेको जानकारी दिए।
‘प्रतिपक्ष बोलिरहने, सत्तापक्ष नसुनिकन अघि बढिरहने गर्नु हुँदैन। कसैले कसैको नसुन्ने यो ढुंगाहरूको देश हो ? अचम्म लागेको छ,’ उनले भने।
यस्तै, सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले संसद, मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको आरोप लगाइन्।
‘हामी जवाफ मागिरहेका छौँ, तर प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता मिश्रित शक्ति प्रदर्शनको संकेत देखिएको छ,’ उनले भनिन्।
सांसद खडक बहादुर बुढाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सिंहदरबारभित्र ‘अदृश्य गिरोह’ को प्रभाव रहेको आरोप लगाए।
‘हामी यो देशमा विधिको शासन चलाउँदै छौँ कि, सिंहदरबारभित्र कुनै अदृश्य गिरोहको हुकुमी जंगलराज जन्माउँदै छौँ ?,’ उनले प्रश्न गरे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहितका अधिकारीलाई सिंहदरबारमा नौ घण्टासम्म राखिएको तथा एक विदेशी राजदूतमाथि प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार गरिएको भनिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरे।
‘सिंहदरबार के कालो चस्मा लगाउनेहरूको इसारामा चलिरहेको हो ?’ भन्दै उनले सरकारमाथि सुशासनको गम्भीर उल्लंघन गरेको आरोप लगाए।
त्यसैगरी, सांसद गुरु प्रसाद बरालले पनि सरकार सुशासनका सिद्धान्तविपरीत अघि बढिरहेको टिप्पणी गरे।
प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा प्रतिपक्षी दलहरूले लगातार आपत्ति जनाउँदै आएका छन्।
यद्यपि, यस विषयमा सरकार वा प्रधानमन्त्री कार्यालयबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रतिपक्ष वालेन शाह संसद


