



काठमाडौं । रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले संविधान संशाेधन बहसपत्र तयार पार्ने क्रममा आफूहरु सबैको कुरा सुनिरहेको बताएका छन्।
साहले भने, ‘संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ-आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ।’
महाधिवेशनमा मुख्य रूपमा दुई वटा दस्तावेजले प्रदेशको विषयमा बोलेपछि साहले यो विषय स्पस्ट पारेका हुन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दस्तावेज पेस गर्दै संविधान संशोधनसम्बन्धी धारणा सार्वजनिक गर्दै प्रदेशसभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा पार्टी रहेको बताएका थिए।
त्यस्तै उपसभापति स्वर्णिम वाग्लेले ‘अर्थ-राजनीतिक प्रस्तावना’ भन्दै अर्को दस्तावेज ल्याए । महाधिवेशनबाट पारित उपसभापति वाग्लेको वैचारिक दस्तावेजमा स्पष्ट रूपमा ‘प्रदेश सभाको खारेजीसहित संघीयताको पुनर्संरचना’ उल्लेख गरिएको छ।
यस विषयमा वरिष्ठ नेता तथा प्रधानमन्त्रीका सल्लाहकार साहले ‘बहस पत्र तयार गर्ने क्रममा हामीले सबैको कुरा सुन्छौँ । पूर्वराष्ट्रपतिदेखि, पूर्वप्रधानमन्त्री देखि सबैका कुराहरू सुनिरहेका छौँ । त्यसमा एउटा राष्ट्रिय सहमति हुन्छ, त्यसमा यही नै भन्ने छैन ।’
साहले पार्टीमा कुनै गुट नभएको समेत बताए। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन। सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री भएपछि यो गुट उपगुट यहीँ सकियो। गुट उपगुट भन्ने नै छैन।’
असिम साह


