


कैलाली। सुदूरपश्चिमको दुर्गम कैलाली जिल्लामा रहेको चुरे गाउँपालिका–४ अन्तर्गत खारेपानी टोल छेउमै रहेको मनमोहक ‘खारेपानी झरना’ पर्यटकीय सम्भावनाको नयाँ गन्तव्यका रुपमा देखिएको छ।
पछिल्ला वर्षहरूमा अस्थायी सडकको पहुँच पुगेपछि यहाँ आन्तरिक पर्यटकको ध्यानाकर्षण हुन थालेको हो। यो झरना नयाँ गन्तव्यका रूपमा विस्तारै परिचित हुँदै गएको स्थानीय बताउँछन्।
चुरे पहाडको काखबाट बहने शीतल पानी, प्राकृतिक चट्टान, हरिताम्य जंगल र शान्त वातावरणले यस क्षेत्रलाई प्रकृतिप्रेमीका लागि अनुपम गन्तव्य बनाएको पूर्व शिक्षक तथा स्थानीय राजनीतिज्ञ नारायणदत्त योगीले बताए।
तहतह भएर झरेको खारेपानी झरना झरना प्राकृतिक रूपमा चट्टानहरूबाट हाम फाल्दै झरेको दृश्यले जो कोहीको मन लोभ्याउने गर्छ।
तल आएर सानो प्राकृतिक तालमा मिसिने झरनाको वरिपरि बाक्लो हरियाली, काईले ढाकिएका ढुंगाहरू र चिसो वातावरणले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको योगीको भनाइ छ।
चुरे गाउँपालिका कैलाली जिल्लाको उत्तरी भागमा रहेको प्राकृतिक सम्पदाले भरिपूर्ण स्थानीय पालिका हो। जहाँ करिब १०० वर्ष पुरानो राणाकालीन पुरातात्विक महत्वको दरबार छ। सोही दरबारदेखि ३ किलोमिटर तल रहेको यो झरना थप आकर्षक बन्नसक्ने देखिन्छ।
सहजपुर, निगाली र खैराला गाविसलाई समेटेर गठन गरिएको चुरे गाउँपालिकाको क्षेत्रफल करिब ४९३ वर्ग किलोमिटर छ। यहाँ वन, जैविक विविधता, नदी, झरना तथा पहाडी प्राकृतिक सम्पदाको प्रशस्त सम्भावना रहेको छ।

प्राकृतिको अनुपम उपहार
खारेपानी झरना कुनै कृत्रिम संरचना होइन। चुरे पहाडको मुहानबाट निस्किएको कञ्चन पानी चट्टानका विभिन्न तह हुँदै तल खस्ने भएकाले यसको दृश्य निकै आकर्षक छ र झरना पवित्र भएको स्थानीय बताउँछन्।
वर्षायाममा झरनाको बहाव अझ बढ्ने भएकाले यसको सौन्दर्य झनै मनमोहक बन्ने गरेको छ। हिउँदमा पनि सफा र चिसो पानी निरन्तर बगिरहन्छ। झरनाको फेदमा बनेको प्राकृतिक जलाशयले आगन्तुक नुहाउन र रमाउन थप प्रेरित गर्छ।
पर्यटनको ठूलो सम्भावना
स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता सामाजिक सञ्जालमार्फत झरनाको तस्बिर र भिडियो सार्वजनिक हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सम्भावना बढ्दै गएको छ। कैलालीको तराईं क्षेत्रमा उच्च गर्मी हुने भएकाले पनि यो क्षेत्रको शितलता पर्यटकका लागि बरदान सावित हुने सम्भावना पर्खिएर बनेको छ।
यदि स्थानीय सरकार र प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न सके यो स्थान सुदूरपश्चिमकै चर्चित प्राकृतिक गन्तव्य बन्न सक्ने सम्भावना पर्खिएर बसेको स्थानीय बताउँछन्।
पूर्वाधारको अभाव
प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि यहाँ पुग्ने सडक, सुरक्षित पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, शौचालय, फोहोर व्यवस्थापन तथा सुरक्षाजस्ता आधारभूत पूर्वाधार पर्याप्त छैनन्। स्थानीय पालिकाको ध्यान यसतर्फ नगएको प्रति स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन्।
प्रचारप्रसारको खाँचो
यस्तो प्राकृतिक सम्पदा राष्ट्रिय स्तरमै धेरैलाई जानकारी छैन। व्यवस्थित प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सके यहाँ पर्यटन भित्र्याएर स्थानीय अर्थतन्त्रलाई नै चलायमान बनाउन सकिने सम्भावना उच्च छ। चुरे गाउँपालिका–४ को खारेपानी झरना प्रकृतिले दिएको अनुपम उपहार भए पनि स्थानीय पालिकाले चिन्न नसक्नु दुर्भाग्य भएको स्थानीय गुनासो गर्छन्।
धेरैको नजरबाट ओझेल परेको यो गन्तव्यमा पर्याप्त पूर्वाधार, संरक्षण र प्रचारप्रसार गर्न सकिए पर्यटन विकाससँगै स्थानीय आर्थिक समृद्धिको नयाँ आधार बन्न सक्ने उनीहरुको विश्वास छ।
खारेपानी चेरे गाउँपालिका

