


काठमाडौं । राज्यकै संरक्षणमा सुरक्षित भविष्य पाउनुपर्ने बालबालिका चरम लापरवाही, अस्वच्छ वातावरण र स्वास्थ्य जोखिमकाबीच बाँच्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ।
नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे लगातार उजुरी, भिडियो प्रमाण र कर्मचारीकै खुलासापछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले आकस्मिक अनुगमन गर्दै २० जना बालबालिकाको उद्धार गरेको हो।
मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले गरेको स्थलगत अनुगमनका क्रममा बालगृहभित्रको अवस्था अत्यन्त दयनीय र वेवारिसे भेटिएको छ।
भवनभित्र पानी जमेको, शौचालय र बाथरुम फोहोर तथा चिप्लो अवस्थामा रहेको, सरसफाइको न्यूनतम मापदण्डसमेत पालना नगरिएको र फरक–फरक उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको पाइएको छ।
यस्तो अवस्था बालबालिकाको स्वास्थ्य, सुरक्षा र मनोवैज्ञानिक विकासका लागि गम्भीर खतरा भएको मन्त्रालयले निष्कर्ष निकालेको छ।
मन्त्रालयकै निर्देशन अटेर
मन्त्रालयले यसअघि पनि नेपाल बाल संगठनलाई पटक–पटक भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र बालमैत्री वातावरण सुनिश्चित गर्न निर्देशन दिएको थियो। सम्बन्धित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो।
तर, ती सबै निर्देशन कागजमै सीमित भएपछि अन्ततः मन्त्रालयले प्रत्यक्ष हस्तक्षेप गर्दै उद्धार अभियान सञ्चालन गर्नुपरेको जनाएको छ।
पछिल्लो समय स्थानीय सरोकारवाला, कर्मचारी तथा विभिन्न व्यक्तिबाट मन्त्रालयमा पुगेका भिडियोहरूमा बालगृहभित्र पानी जमेको, दुर्गन्ध फैलिएको र महामारी फैलिन सक्ने अवस्था देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका दृश्यहरूले पनि संस्थाभित्रको वास्तविकता उजागर गरेका थिए।
उक्त प्रमाणका आधारमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्।
उनीहरूको स्वास्थ्य परीक्षण, संरक्षण, हेरचाह र पुनर्स्थापनाको प्रक्रिया सम्बन्धित निकायसँगको समन्वयमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको र बाल संगठनमा रहेका अन्य बालबालिकाको अवस्थाको समेत विस्तृत मूल्याङ्कन गरी आवश्यक थप उद्धार, अनुगमन र जिम्मेवार पक्षमाथि कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
उद्धार बाल संगठन बालबालिका

