Logo
११ साउन २०८३, सोमबार

विरोधबीच नागढुङ्गा सुरुङमार्ग उद्घाटन, अत्यावश्यक सवारी मात्र चलाउन पाइने

अक्षरपाटी
२०८३ साउन ११ , सोमबार ११:०७ मा प्रकाशित

काठमाडौँ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरेका छन्।

उद्घाटनसँगै सुरुङमार्ग सञ्चालनमा आए पनि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइने निर्णय गरिएको छ।

सरकारले सुरुङमार्गको सञ्चालनको प्रारम्भिक चरणलाई परीक्षण अवधिका रूपमा अघि बढाउने निर्णय गरेको छ। परीक्षण सफल भएपछि सवारीसाधनको प्रकृतिअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरी नियमित सवारी सञ्चालन गरिने जनाइएको छ। मोटरसाइकल र पैदलयात्रीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति नदिइने भएको छ।

उद्घाटन समारोहका लागि नागढुङ्गा पुगेका मन्त्री लम्साललाई स्थानीयवासीले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले स्थानीय सरोकारसँग सम्बन्धित विषय उठाउँदै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

मन्त्री लम्साल केहीबेर प्रदर्शनकारीसँग छलफलमा बसेका थिए। स्थानीयका गुनासा र माग सुनेपछि उनी उद्घाटनस्थलतर्फ गएका थिए। मन्त्री लम्सालले स्थानीयका जायज मागलाई सरकारले गम्भीरतापूर्वक लिने विश्वास दिलाएको सहभागीहरूले बताएका छन्।

नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको यात्रा समय घट्नुका साथै ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।

नागढुङ्गा–सिस्नेखोला मन्त्री सुनिल लम्साल सुरुङमार्ग