



भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो।
साउन १ गतेबाट सुरु भएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ।
असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ।
यस्तै, भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ।
त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ।
यस्तै, भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट हुनेछन्।
असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ।
विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ।


