Logo
१४ साउन २०८३, बिहीबार

मिलौं न दाजुभाइ !

अक्षरपाटी
२०८३ साउन १४ , बिहीबार ११:०७ मा प्रकाशित

o बलदेव थापा

हिजोपनि देशकै सम्पत्ति जल्यो
बुढा बा-आमाको सहारा ढल्यो
बिभिन्न नारामा आगो बल्यो
जनताकै टाउकोमा गोली चल्यो।

संधै यस्तै भएको छ
निमुखाकै ज्यान गएको छ
गरिब बस्ती फेरि रोएको छ
कुर्सीमा बस्नेलाई यसले छोएको छ ?

नारा बिभिन्न दिइन्छ
बहाना अनेक बनाइन्छ
जनतालाई सडकमा उतारिन्छ
भ्रम फैलाउदै उग्र बनाइन्छ
अन्ततः गरिबको छोरो नै मारिन्छ।
महलमा त महंगो रक्सीको चुस्कीसँगै
बेफिक्री दिपावली मनाइन्छ।

हामी भाइभाइ लड्न थाल्यौं
आफन्तकै धुरीमा आगो बाल्यौं
धर्मको नाममा या त बादको नाममा
हामी आफैलाई सिध्याउन थाल्यौं
स्वर्गजस्तो यो देश
अब त हामीले नै भड्खालोमा हाल्यौं।

कुकर्म को गरिरहेछ
मनवता किन मरिरहेछ
शान्तीप्रिय यो देशमा
झुक्याउँदै छद्म भेषमा
स्वर्थको रोटी को बेलिरहेछ
फोहोरी खेल किन खेलिरहेछ?

जनतालाई उक्साइन्छ
सडकसम्म ल्याइन्छ
गोली चलाइन्छ
निर्दोषहरुलाई नै ढलाइन्छ
लासमाथि राजनीति गर्दै
सत्ताको यात्रा गरिन्छ
माथि पुगेपछि भुँई देखिदैन
हस्ताक्षर गर्ने कलमले
गरिबको कथा लेखिदैन।

किन बुझेनौं हामीले
उक्साइरहेछ बैरीले
मरिरहेछन आफ्नै दाजुभाइ
दाउमा लगाइ रहेछौं आफैलाई।

बुझेर दुष्टको चाल
नबनाउँ आफ्नो यो हाल
बुझौं न अरुलाई
मिलौं न दाजुभाइ
नरुवाउँ न आमालाई
बचाउनु छ देशलाई।

(कवि थापा पेशाले बेंकर हुन्)

कविता बलदेव थापा
यो पनि हेर्नुहोस् : मायाका प्याला

ट्रेन्डिङ ( साप्ताहिक )