Logo
१७ साउन २०८३, आईतबार

‘एक मान्ठ एक देवता’ कथासङ्ग्रहमा कर्णालीका कथा

अक्षरपाटी
२०८३ साउन १७ , आईतबार १०:०८ मा प्रकाशित

काठमाडाैं। युवा लेखक शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ लोकार्पण भएको छ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नयनराज पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको
विषयवस्तुलाई गहन ढङ्गले समेटिएको बताए।

उनले अहिलेका अब्बल र दुर्बल गुणको चर्चा गर्दै लेखक शिवराजमा शिवराज-क र शिवराज ख दुवै भएको बताए । उनले भने, ‘शिवराज-क’का कथा बेजोड छन्,
‘शिवराज-ख’का कथा अल्लारे छन्। खासमा शाही ‘शिवराज-क’ हुन् । किताब अब्बल छ ।’

साहित्यकार नयनराज पाण्डे, पूर्वमन्त्री एवं लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले
संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

लेखक एवं पूर्वमन्त्री माधव चौलागाईंले पुस्तकमा कर्णालीका कथा र वेदनालाई समेटिएको बताए। उनले भने,
‘कथाले कर्णालीको समाज मात्रै होइन, जीवनका मिहिन वस्तुहरूलाई उतारेको छ। यो कर्णालीको एउटा
समाजशास्त्रीय दर्पण हो।’

अभिनेत्री सुरक्षा पन्तले ११ वटै कथामा सिनेमा बनाउन सकिने बताइन्। उनले भनिन्, ‘यो किताब पढेपछि
हरेक मान्ठभित्र देउता हुन्छ भन्ने बुझेँ। हरेक कथामा जीवनका रिलहरू घुमेका छन्। सबै कालजयी
सिनेमाजस्ता छन्।’

लेखक शाहीले कर्णालीका आमा र दिदीबहिनीका आवाजलाई समेटेर कथा लेखेको बताए। जाजरकोटका शाही बाह्रखरी कथा प्रतियोगिता २०८२ र चक्रपाणी चालिसे कथा प्रतियोगिता २०८१ का
विजेता समेत हुन्। ‘एक मान्ठ एक देवता’ उनको पहिलो कथासङ्ग्रह हो।

कथाअनुसारका चित्र र थिमअनुसारको कलर फन्टमा मुद्रण गरिएको कथासङ्ग्रहलाई बुकहिलले प्रकाशन गरेको हो।

एक मान्ठ एक देवता