


काठमाडौं । आन्तरिक राजश्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। योजनाअनुसार २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
विभागका अनुसार उक्त उपभोक्ताले शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका थिए। १० लाख रुपैयाँ बम्पर पुरस्कार जित्ने विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ।
यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही एक–एक लाख रुपैयाँ पुरस्कार जितेका छन्। विजेताको घोषणा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा गरिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो। उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्ने तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना कार्यान्वयनमा ल्याइएको हो।
योजनाअनुसार हरेक १५ दिनमा एक जना उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर उपहार र १५ जनालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।
यसका लागि आन्तरिक राजश्व विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। नगद भुक्तानी गरी नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले प्राप्त गरेको सक्कली बिल वेबसाइटमा अपलोड गरेर योजनामा सहभागी हुन सक्नेछन्।
यस्तै, क्यूआर कोडमार्फत गरिएको भुक्तानी भने प्रणालीमै स्वतः समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल इन्ट्री गर्नुपर्ने छैन। विभागका अनुसार बैंक वा डिजिटल वालेटमार्फत क्यूआर प्रयोग गरेर १०० रुपैयाँभन्दा बढीको खरिद गरेका उपभोक्ताले आफ्नो कारोबार विवरण सुरक्षित राख्नुपर्नेछ। सोही ट्रान्स्याक्सन नम्बरका आधारमा उनीहरू उपहारका लागि योग्य हुनेछन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई औपचारिक कर प्रणालीमा आकर्षित गर्न तथा बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्न यो कार्यक्रम घोषणा गरेका थिए। त्यसअनुसार अर्थ मन्त्रालयले असार अन्तिम साता करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो।
करदाता प्रोत्साहन बम्पर उपहार

