Logo
१ मंसीर २०८३, मंगलबार

नाइमा मोबिलिटी एक्स्पोमा ईभीको वर्चस्व, ४० नयाँ मोडल सार्वजनिक हुँदै

अक्षरपाटी
२०८३ साउन २१ , बिहीबार ०३:०८ मा प्रकाशित

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) को आकर्षण बढिरहेका बेला आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय सवारी तथा नयाँ मोबिलिटी प्रविधिको दबदबा देखिने भएको छ।

एक्स्पोमा ५२ वटा स्टलमार्फत ५५ वटा ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० वटा नयाँ उत्पादन तथा मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ। आयोजकका अनुसार यसपटकको एक्स्पोको मुख्य आकर्षण नै नयाँ सवारी तथा प्रविधि हुनेछन्।

नाइमा मोबिलिटी एक्स्पोको प्लानिङ कमिटी सदस्य शिशिरकुमार मुरारकाका अनुसार एक्स्पोमा नेपालमा बिक्री भइरहेका सवारीसाधनसँगै भविष्यमा नेपाली बजारमा आउन सक्ने नयाँ प्रविधिका मोडलसमेत प्रदर्शन गरिनेछ।

चीन र भारतमा विकास भइरहेका विद्युतीय सवारी तथा अन्य नयाँ प्रविधिलाई समेत नेपाली उपभोक्ताले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।

कतिपय ब्रान्डले भविष्यमा प्रयोग हुन सक्ने प्रविधि र अवधारणाका सवारी प्रदर्शन गर्ने तयारी गरेका छन्। केही ब्रान्डले लेफ्ट ह्यान्ड ड्राइभका मोडलसमेत प्रदर्शनीमा राख्ने भएका छन्।

मुरारकाका अनुसार एक्स्पो नयाँ सवारीको प्रदर्शन र बिक्रीमा मात्र सीमित नभई समग्र अटोमोबाइल बजारलाई चलायमान बनाउने माध्यम बन्नेछ। विशेषगरी दसैंको समयमा सवारी खरिद गर्ने नेपाली उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्डका मोडल, मूल्य, सुविधा र प्रविधिबारे जानकारी लिन सहज हुनेछ।

एक्स्पोमा बैंक, बीमा कम्पनी तथा एक्सचेन्ज पार्टनरसमेत सहभागी हुनेछन्। यसबाट ग्राहकले सवारी खरिदका लागि आवश्यक वित्तीय सुविधा, बीमा तथा पुरानो सवारीसाधन साट्ने सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

कम ब्याजदरले सहजता

हाल बैंकिङ ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि उपयुक्त समय रहेको मुरारकाको भनाइ छ। कम ब्याजदरका कारण ग्राहकको वित्तीय भार घट्ने भएकाले बजारमा सवारी खरिदको वातावरण सहज बन्ने उनको दाबी छ।

सर्भिस र स्पेयर पार्ट्समा सुधार

ईभीको संख्या बढेसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्सको उपलब्धता चुनौतीका रूपमा देखिए पनि कम्पनीहरूले यस क्षेत्रमा सुधार गरिरहेको मुरारकाले बताए।

सीमाक्षेत्रका सडक अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति समस्या तथा ढुवानीमा हुने ढिलाइका कारण कतिपय अवस्थामा स्पेयर पार्ट्स उपलब्ध हुन समय लाग्न सक्ने भए पनि बिक्रीपछिको सेवामा ठूलो समस्या नरहेको उनको भनाइ छ।

पार्किङ र डिजिटल टिकटको व्यवस्था

एक्स्पोमा आउने आगन्तुकको सहजताका लागि पार्किङको विशेष व्यवस्था गरिएको छ। भृकुटीमण्डपको विपरीततर्फ रहेको ब्लु प्याभिलियनलाई एक्स्पो अवधिभर पार्किङस्थलका रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ।

त्यस्तै, एक्स्पोका लागि डिजिटल टिकटको व्यवस्था गरिएको छ। खल्ती बाई आईएमईमार्फत टिकट खरिद गर्न सकिनेछ भने युनियन पेबाट भुक्तानी गर्दा क्यासब्याक तथा विद्यार्थीका लागि छुटको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालमा भित्रिँदै गरेका नयाँ अटोमोबाइल प्रविधि, विद्युतीय सवारी र भविष्यको मोबिलिटीबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्म बन्नेछ।

नापमा एक्सपो

ट्रेन्डिङ ( साप्ताहिक )