Logo
३० साउन २०८३, शनिबार

ज्योति महतसँग मन्त्री सिता बादीको भेट, उपचार र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गर्ने

अक्षरपाटी
२०८३ साउन २९ , शुक्रबार ०६:०८ मा प्रकाशित

काठमाडौं । गम्भीर स्वास्थ्य समस्याका कारण उपचार तथा पुनर्स्थापनाको चुनौती सामना गरिरहेकी ज्योति महतसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज भेट गरेकी छन्।

मन्त्री बादीले भेटका क्रममा उनको स्वास्थ्य अवस्था, उपचार तथा आगामी आवश्यकताबारे जानकारी लिएकी छन्। सो क्रममा ज्योतिले आफ्नो स्वास्थ्य अवस्था, उपचारका क्रममा भोग्नुपरेका समस्या तथा आगामी दिनमा आवश्यक सहयोगबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्। उनले आफूले भोगेको यौन हिंसाका विषयमा समेत मन्त्री बादीसमक्ष जानकारी गराएकी थिइन्।

ज्योतिको अवस्था र आवश्यकताबारे जानकारी लिएपछि मन्त्री बादीले उपचारका लागि आवश्यक सहयोग तथा स्वास्थ्य सेवामा सहजीकरण गर्न पहल गर्ने बताइन्। उनले यौन हिंसासम्बन्धी विषयमा आवश्यक न्यायका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने प्रदिवद्धता जनाएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री बादीले दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनको अवसर उपलब्ध गराउन आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन्। उपचार गराएर मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउँदै पीडित नागरिकलाई न्याय, आत्मनिर्भरता र सम्मानजनक जीवनमा फर्काउन राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा मन्त्रीले जोड दिइन्।

‘राज्यको जिम्मेवारी उपचार गराएर मात्र पूरा हुँदैन। पीडित नागरिकलाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्नुका साथै आत्मनिर्भर बन्ने अवसर र सम्मानपूर्वक जीवन जिउने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व हो,” मन्त्री बादीले भनिन्।

उनले ज्योतिको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिइन्। मन्त्रीसँगको भेटमा ज्योतिले आफ्नो अवस्थाप्रति चासो राखी उपचार, न्याय र भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा आभार व्यक्त गरेकी थिइन।

मन्त्री सिता बादी