


काठमाडौं । नेपाल आयल निगमले आज सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै हुने जनाएको छ।
निगमले सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत उपभोक्तालाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले सम्बन्धित ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न व्यवस्था पालना गर्न निर्देशन दिएको हो।
निगमका अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर तथा बिक्री गरिएका सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगममा उपलब्ध गराउनुपर्नेछ।
विक्रेताले बिक्री गरेको ग्यासको परिमाण तथा उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास वितरण गर्दा अत्यावश्यक घरेलु प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री गर्न निगमले आग्रह गरेको छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्थालाई सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई अनुरोध गरिएको निगमले जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
नजिकका विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल अत्यावश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई सम्पर्क गर्न सक्नेछन्। निगमले क्यूआरटीका लागि उपलब्ध गराएका सम्पर्क नम्बरमा फोन गरी समस्या जानकारी गराउन आग्रह गरेको छ।
निगमले ग्यासको बिक्री–वितरणलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ता, ग्यास उद्योग तथा विक्रेतासहित सबै सम्बन्धित पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।
ग्यास नेपाल आयल निगम

