Logo
४ भदौ २०८३, बिहीबार

आईजीपीतर्फ लक्षित गर्दै खगेन्द्र सुनारले भने– मानमर्दन भएको हो भने अदालत जानू, जवाफ दिन तयार छु

अक्षरपाटी
२०८३ भदौ ४ , बिहीबार १२:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको दाबी गरेका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीका स्रोत–साधन खरिदमा अनियमितता भएको भन्दै त्यसबारे छानबिन हुनुपर्ने बताएका हुन् । उनले यसअघि समितिले मागेका खरिदसम्बन्धी कागजात उपलब्ध भए–नभएको विषयमा समेत प्रश्न उठाए ।

‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ । त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले भने ।

उनले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको आरोपसमेत लगाए ।

‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ सुनारले भने ।

आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्न उनले चुनौती दिए । आफू कानुनी प्रक्रियामा जवाफ दिन तयार रहेको उनको भनाइ छ ।

‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला । कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ उनले भने ।

सार्वजनिक लेखा समिति जस्तो सार्वभौम निकायमा आएर व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिन नहुने पनि उनले बताए ।

‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन,’ सुनारले भने ।

खगेन्द्र सुनार