Logo
२६ असोज २०८३, सोमबार

पूजा-हवनमा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बेच्न प्रतिबन्ध

अक्षरपाटी
२०८३ असोज २६ , सोमबार ०६:१० मा प्रकाशित

काठमाडौं २६ असोज। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य प्रयोजनको घिउ वा वनस्पति घिउका रूपमा उत्पादन तथा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाएको छ। त्यसो गरेकाे पाइएमा दण्डनीय हुने चेतावनी पनि विभागले दिएको छ।

विभागले जारी गरेको सूचनामार्फत बजारमा केही खाद्य व्यवसायी तथा उत्पादन उद्योगले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ तथा तेल, वासना, प्याराफिन, खनिज तेललगायत विभिन्न पदार्थ मिसाएर पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री–वितरण गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ।

विभागका अनुसार यस्ता उत्पादनको रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुत गर्ने शैली बजारमा उपलब्ध खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ताले झुक्किएर खाना पकाउन वा खानसमेत प्रयोग गर्न सक्ने जोखिम देखिएको विभागको भनाइ छ।

यस्तो जोखिमलाई मध्यनजर गर्दै विभागले खाद्य उद्योगहरूलाई पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको हो।

‘खानाको लागि होइन’ स्पस्ट लेख्नुपर्ने

विभागले पूजा तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री गर्नैपर्ने भए प्याकेजको लेबलमा ‘खानाको लागि होइन’ भन्ने सूचना स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यस्तो सूचना कालो रङको ‘X’ चिन्हसहित ठूलो फन्टमा स्पष्ट देखिने गरी राख्नुपर्ने विभागले जनाएको छ। साथै, उक्त उत्पादनको लेबलमा ‘घिउ’, ‘वनस्पति घिउ’ वा ‘बेकरी सर्टेनिङ’ जस्ता खाद्य पदार्थसँग सम्बन्धित शब्द प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ।

विभागले यस्ता उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक लेबल विवरण अनिवार्य रूपमा उल्लेख गरेर मात्र उत्पादन तथा बिक्री–वितरण गर्नुपर्ने जनाएको छ।

उपभोक्ता झुक्किने अवस्था रोक्न कडाइ

पूजा तथा धार्मिक प्रयोजनका लागि उत्पादन गरिएको चिल्लो पदार्थ खाद्य घिउसँग मिसावट हुने वा गलत लेबलका कारण खाद्य आपूर्ति शृंखलामा प्रवेश गर्ने सम्भावना रहेको भन्दै विभागले यस्तो अभ्यास रोक्न निर्देशन दिएको हो।

विभागले २३ असोजमा जारी गरेको सूचनामा खाद्य तथा अखाद्य उत्पादनबीच स्पष्ट पहिचान कायम गर्नुपर्ने र उपभोक्तालाई भ्रममा पार्ने गरी उत्पादन तथा बिक्री–वितरण गर्न नहुने उल्लेख छ।

निर्देशनविपरीत उत्पादन, गलत लेबलिङ वा गैरखाद्य उत्पादनलाई खाद्य पदार्थका रूपमा बजारमा पठाएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

ट्रेन्डिङ ( साप्ताहिक )