


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उनले जानकारी दिए। यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उनले स्पष्ट पारे।
‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,’ उनले भने, ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।’
उनले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताए। स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारे।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वास्थ्य बिमा

