Logo
१४ भदौ २०८३, आईतबार

बाढी प्रभावित पालिका प्रमुखसँग रविको टेलिफोन संवाद, सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

अक्षरपाटी
२०८३ भदौ १४ , आईतबार ०४:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्।

भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न लामिछानेले आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट स्थानीय तहका प्रमुखसँग संवाद गरेका हुन्। संवादका क्रममा उनले प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिनुका साथै तत्काल आवश्यक पर्ने सामग्री र समस्याबारे जानकारी लिए।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडक सञ्जालसँग जोड्नुपर्ने, शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने तथा विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्ने बताए।

आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि थप पहल गर्नुपर्ने तथा जेनेरेटरको व्यवस्था गरी विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने, खाना पकाउने ग्यासको अभाव रहेकाले कम्तीमा एक हजार सिलिन्डर तत्काल उपलब्ध गराउनुपर्ने र विद्युतका पोल तथा तार जडानको काम अघि बढाउनुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत गरे।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई तत्काल सम्बोधन गर्नुपर्ने विषयका रूपमा उठाए। उद्धारमा सुरक्षाकर्मी परिचालन हुँदा नियमित जनसुरक्षाका काम प्रभावित भएको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको माग थियो।

त्यस्तै, नुवाकोटको बेलकोटगढी गाउँपालिकाका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँग समन्वयमा कठिनाइ भइरहेको पनि जानकारी गराए।

धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले कम्तीमा एक सय वटा टेन्ट आवश्यक रहेको भन्दै विस्थापितका लागि तत्काल वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने बताए।

स्थानीय तहका प्रमुखहरूले राखेका समस्या र माग सुनेपछि सभापति लामिछानेले नेपाल सरकार तथा सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले प्रभावित क्षेत्रका समस्या समाधानका लागि विभिन्न मन्त्रीसँग समन्वयको कामसमेत तत्काल सुरु गरेको रास्वपाले जनाएको छ।

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )