



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएकाे भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भोटेकोशी बाढीले ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानमा व्यवस्थापन तथा आवश्यक राहत सामग्रीको पहुँचलाई प्रभावकारी बनाउने विषयमा भेटमा जोड दिइएको थियो।
त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य अत्यावश्यक संरचनाको पुनःस्थापनालाई तीव्रता दिने विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।
भेटमा विपद्का बेला राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय गर्दै प्रभावित नागरिकलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाको अनुभूति दिलाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि अहिले पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। सरकारले तत्कालीन राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह रवि लामिछाने

