



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया छुट्टै ढंगले अघि बढाउने निर्णय गरेको छ ।
पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालय सानेपाबाट तय गरिएको प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्षले अघि सारेको निर्णय आफूहरूलाई स्वीकार्य नभएकाले नेता उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो । महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने उनीहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा जिम्मेवारी दिने निर्णय सानेपाले गरेको थियो ।
तर, देउवा समूहले उक्त प्रस्ताव अस्वीकार गरेको हो । बैठकमा आफूहरू कुनै पद प्राप्तिका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको बताइएको छ ।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको जानकारी दिए । उनले समूहको औपचारिक धारणा सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए ।
कांग्रेसमा १५औँ महाधिवेशनको प्रक्रिया र त्यसको कार्यतालिकालाई लिएर संस्थापन र इतर समूहबीच मतभेद चर्किएको छ ।
नेपाली कांग्रेस शेरबहादुर देउवा

