



काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमानका विभिन्न मोडलहरूको अध्ययनका आधारमा पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी वर्षाको सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै नेपालमा प्रवेश गर्ने क्रममा भारी वर्षा हुनसक्ने देखिएको हो।
उनका अनुसार आगामी बिहीबारदेखि सोमबारसम्म वर्षाको सम्भावना रहे पनि शुक्रबार र शनिबार बढी जोखिम देखिएको छ।
‘शुक्रबार र शनिबार चाहिँ अलि धेरै नै जोखिम देखिन्छ,’ उनले भनेका छन्।
अमेरिकी मौसम पूर्वानुमान मोडलले बिहीबारदेखि सोमबारसम्म लामो समय वर्षा हुनसक्ने देखाएको छ। युरोपेली मोडलले भने पश्चिम नेपालमा भारी वर्षाको सम्भावना बढी देखाएको पोखरेलले बताएका छन्।
उनका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडलहरूले बागमती र मधेश प्रदेशबाट सुरु भएर पश्चिम नेपालतर्फ भारी वर्षाको सम्भावना देखाएका छन्। केही मोडलले पूर्वी नेपाल र सुदूरपश्चिममा समेत उल्लेख्य वर्षा हुनसक्ने संकेत गरेका छन्।
विभिन्न मोडलहरूले चारदेखि पाँच दिनको अवधिमा केही स्थानमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेको उनले बताए। यद्यपि एउटै दिनमा त्यति ठूलो वर्षा हुने भन्ने नभएको उनले स्पष्ट पारे।
‘५०० मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण छ भने त्यो अत्यन्तै भारी वर्षाको संकेत हो। तर त्यो एकैदिनमा पर्ने होइन, चार–पाँच दिनको अवधिमा हुनसक्छ,’ उनले भने।
तीनवटै प्रमुख मौसम पूर्वानुमान मोडलले लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखाएको पोखरेलले बताए। तर अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ।
मौसम प्रणालीको विकास र त्यसको दिशाबारे आगामी दिनमा थप स्पष्ट हुँदै जाने भएकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना हेर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान

