



काठमाडौं । विश्व पर्यटन दिवस २०२६ को अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यालय काठमाडौंले चित्रकला तथा फोटो प्रदर्शनी, अन्तक्रिया र साइकल यात्रा आयोजना गरेको छ।
धुम्बाराहीस्थित स्मार्ट दरबार होटलमा आयोजित कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले कला र संस्कृति पर्यटनको आधार भएको भन्दै पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच सहकार्य आवश्यक रहेको बताए। स्थानीय कला, संस्कृति, प्रकृति र सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

प्रदर्शनीमा १५ कलाकारका २० भन्दा बढी कलाकृति राखिएका थिए। नेपाल तथा बागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन र पर्यावरण झल्काउने चित्र तथा फोटो प्रदर्शनीमा समावेश गरिएको थियो।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपालको विविधता, कला र संस्कृतिलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न मन्त्रालयले काम गरिरहेको बताए। प्रदेश पर्यटन कार्यालयका प्रमुख पवनकुमार पोखरेलले प्रकृति, संस्कृति र कलालाई एकीकृत गर्दै दिगो पर्यटन विकासमा जोड दिइएको बताए।
कलाकार प्रकाश मिजारले पर्यटन दिवसका अवसरमा आयोजित प्रदर्शनीले कला र पर्यटनबीचको सम्बन्ध उजागर गरेको बताए। कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले मौलिक कला र संस्कृतिमार्फत नेपालको पहिचान विश्वमाझ पुर्याउन यस्ता गतिविधि बढाउनुपर्ने बताए।
यसै अवसरमा पाटन दरबार क्षेत्रदेखि धुम्बाराहीसम्म साइकल यात्रा समेत गरिएको थियो। वल्र्ड साइकलिस्ट क्लब नेपालको सहकार्यमा आयोजित यात्रामा डेढ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।


