Logo
१३ असोज २०८३, मंगलबार

बीमा दाबीको सर्भेयर छनोट अब स्वचालित

अक्षरपाटी
२०८३ असोज १३ , मंगलबार १०:०९ मा प्रकाशित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी र स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याउने प्रणाली विकास गरेको छ।

प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षण गरिसकेको छ। नयाँ प्रणालीबारे असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइन तालिम दिइँदैछ। त्यसपछि सर्भेयरलाई पनि तालिम दिने तयारी छ।

प्राधिकरणका अनुसार सर्भेयर छनोट गर्दा विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो र यसअघि पाएको काम लगायतका मापदण्डलाई आधार बनाइनेछ। कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित केसका लागि उपयुक्त सर्भेयर प्रणालीले नै छनोट गर्नेछ।

हाल प्रणालीमा ८८ संस्थागतसहित ६८० सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ। यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई अवसर नदिने गुनासो सम्बोधन गर्दै समान अवसर, पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ। नयाँ प्रणालीले सर्भेयरले पाएको काम, सम्पन्न गरेको काम र नयाँ जिम्मेवारी लिन सक्ने अवस्था समेत ट्र्याक गर्नेछ।

प्राधिकरणले प्रणाली सञ्चालनपछि यसको कार्यक्षमता र सुरक्षा परीक्षणलाई निरन्तर निगरानी गर्ने जनाएको छ। फायरवाल, VAPT लगायतका सुरक्षा परीक्षणसमेत गरिनेछ।

प्राधिकरणका अनुसार प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि सर्भेयर छनोटमा हुने ढिलाइ र विवाद घट्नुका साथै बीमा दाबी फर्छ्योटको समय र लागत कम हुने अपेक्षा गरिएको छ।

नेपाल बीमा प्राधिकरण

ट्रेन्डिङ ( साप्ताहिक )