Logo
१४ असोज २०८३, बुधबार

बाढीमा छोरा–बुहारी गुमाए,नातिनातिनीको जिम्मा सरकारले लियो

अक्षरपाटी
२०८३ असोज १४ , बुधबार ०९:०९ मा प्रकाशित

काठमाडौं । नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका एक वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो।

तर, उहाँको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ।

परिवारको गुजारा चलाउन मजदुरी गर्न नुवाकोट पुगेका छोरा–बुहारी बाढीमा बेपत्ता भएपछि उनी एकैपटक सहाराविहीन मात्र हुन पुगेनन्, उनको काँधमा नातिनातिनीको जिम्मेवारी आइलाग्यो।

बुवाआमा घर फर्कने बाटो कुरेर बसेका तीन जना नाबालक नातिनातिनीलाई कसरी हुर्काउने, पढाउने र भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले उनलाई थप पीडामा पारेको थियो।

त्यही पीडाबीच अहिले उनका लागि आशाको क्षण आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा तीनै जना बालबालिकालाई समेटिएको छ।

यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो।

योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ।

आमाबुबा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो।

नातिनातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि वृद्धका आँखामा पीडासँगै खुसीका आँसु देखिए। उनले भावुक हुँदै भने,’छोरा–बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ। तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन्। नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद।’